भारतमा कोरोना भाइरस संक्रमितको संख्या शनिबारसम्म एक करोड छ लाख ५४ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ८ सय ४९ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड छ लाख ५४ हजार ५ सय ३३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ।
भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण १ सय ५५ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५३ हजार ३ सय ३९ जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख १६ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा एक लाख ८४ हजार ४ सय ८ जना सक्रिय संक्रमित रहेका छन्। भारतमा एक साता अघिदेखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम शुरु भईसकेको छ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा शनिबार १९७ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १० जनाको मृत्यु भएको छ। भारतमा कोभिड–१९ शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ७ सय ९९ को मृत्यु भइसकेको छ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड १७ लाख ६ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। शनिबार एकै दिनमा मात्र सात लाख ८१ हजार ७ सय ५२ जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ।