स्वामी आनन्द अरुणले हरेक मन्त्रीलाई एक वर्षको कम्तिमा १० दिन ध्यान साधनाका लागि आश्रममा पठाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। नेताहरूलाई धर्मको ‘स्कुलिङ’ नभएको टिप्पणी गर्दै स्वामी अरुणले धर्मका बारेमा बुझ्न र ध्यान साधना गर्न मन्त्रीहरूलाई आश्रम पठाउन आग्रह गरेका हुन्।
स्वामी अरुणले ध्यान गर्ने व्यक्तिले धर्मको बाटोमा हिँड्ने बताए। ‘ध्यान गर्ने व्यक्तिले कसैको पैसा लुट्न सक्दैन, कसैलाई दुःख दिन सक्दैन, यो सामान्य प्रक्रियाले जीवनलाई नै अनुशासित बनाउँछ,’ उनले भने।
अरुण स्वामीले पहिला राजा बन्नलाई गुरूकुलमा गएर धर्मको शिक्षा लिनुपर्ने परम्परा रहेको उल्लेख गरे। ‘पहिला राजा बन्न राजकुमारहरू गुरूकुलमा गएर गाई चराउने, भाडा माँझ्ने जस्ता काम गर्थे र उनीहरूले जनताको दुख बुझ्ने गर्थे,’ उनले भने।
नेपालका नेताहरूलाई ध्यान योगमा कुनै मलतब नै नभएको स्वामी अरुणले बताए। ‘सामान्य सांसद्ले पनि फुर्सद छैन भन्नुहुन्छ,’ उनले भने, ‘उहाँहरूलाई आफ्नो कुर्सीको मात्र मोह छ, मिल्ने भए जता जाँदा पनि कुर्सी नै बोकेर हिँड्नु हुन्थ्यो होला।’
अमेरिकाका पूर्व राष्ट्रपति थोमस जेफर्सनको उदाहरण दिँदै भने, ‘थोमस जेफर्सन जसले अमेरिकाको संविधान लेखे, उनले दिनको तीन घण्टा ध्यान र योग गर्थे, र अहिले पनि उनले लेखेको संविधानमाथि अमेरिकाले गर्व गर्छ।’
स्वामी अरुणले भारतमा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी, राजीव गान्धी लगायतले ध्यान गर्ने गरेको उल्लेख गर्दै अहिलेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ध्यान गर्ने गरेको जानकारी गराएका छन्।