न्यायाधीश सपना प्रधान मल्लले ‘संसद् विघटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको बदनियत कहाँ देखियो’ भनी प्रश्न गरेकी छिन्। संवैधानिक इजलासमा आइतबार भएको सुनुवाई गर्ने क्रममा नेकपा संसदीय दलका नेता देवप्रसाद गुरुङसमेतको रिटको पक्षमा बहस गर्न आएका अधिवक्ता मेघराज पोखरेललाई न्यायाधीश मल्लले प्रधानमन्त्री ओलीले आफूसँग संसद् विघटनको विकल्प नभएको बताएको बताउँदै ‘त्यसमा बदनियत कहाँ देखियो?’ भनी प्रश्न गरेकी हुन्।
न्यायाधीश मल्लले प्रधानमन्त्री ओलीले संसदीय व्यवस्थामा संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार हुन्छ भन्ने कुरा गरिरहेको बताउँदै त्यसलाई नेपालको संसदीय अभ्यासमा कसरी लिने भनेर पनि प्रश्न गरेकी छिन्।
‘हुन त प्रत्यर्थीहरूले बहस गर्न बाँकी नै छ, यद्यपि प्रधानमन्त्रीले सरकार पनि चलाउन सकेन, दलले साथ दिएन, विश्वास पनि भएन बाध्यताका कारण मैले संसद् विघटन गर्नुको विकल्प देखिन भन्नुभएको छ, बदनियतको प्रश्न आइरहेको छ, यसमा बदनियत कहाँनिर देखियो?,’ मल्लको प्रश्न थियो।
बहसका क्रममा अधिवक्ता पोखरेललाई न्यायाधीशहूले प्रश्न गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले ‘धारा ७६ (१) को सरकार कसरी संसद् मातहत रहन्छ?’ भनी प्रश्न गरेका छन्।
संविधानले नै सरकारलाई विश्वासको मत लिनुनपर्ने व्यवस्था गरेको बताउँदै राणाले ‘धारा ७६ (१) को सरकार कसरी संसद्को जिम्मेदारीमा बस्यो र उसलाई विश्वासको मतबाट उन्मुक्ति दियो त’ भनेर प्रश्न गरेका हुन्।