नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले सोमबार पत्रकार सम्मेलन गरेर तेश्रो चरणको आन्दोलन घोषणा गरेको हो।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। जसअनुसार १३ गते काठमाडौंमा सिट्टी जुलुस हुनेछ।
माघ १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिइने श्रेष्ठल बताए। धर्नामा संविधानसभा सदस्य, संघीय सांसदका सदस्य र प्रदेशसभा सहभागी हुनेछन्।
यस्तै, १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा जनसभा गर्ने कार्यक्रम तय भएको छ। उक्त कार्यक्रममा शीर्ष नेताहरूले सम्बोधन गर्ने संघर्ष समिति संयोजक श्रेष्ठले बताए।
२२ गते काठमाडौंमा युवाको सहभागितामा र्याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा बृहत विरोध प्रदर्शन गर्ने तय भएको छ।