प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा प्रदेश २ लाई ४ विकेटले हराएको पुलिस समूह ’बी’ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
प्रदेश २ ले दिएको १ सय ७० रनको विजयी लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। पुलिसको जितमा अनिल साहले अविजित रहदै सर्वाधिक ४७ रन बनाए।
त्यस्तै, कुशल भुर्तेलले ४३, दिपेन्द्र सिंह ऐरी र अमित श्रेष्ठले समान १७–१७ रन बनाए। बलिङमा प्रदेश २ का कुमार थापा र विवेक यादवले समान ३–३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो। प्रदेश २ का लागि हरिशंकर साहले ५३ रनको योगदान दिए। त्यस्तै, हिमान्सु दत्तले १६ रन र आदील अन्सारीले १५ रन बनाए।
बलिङमा पुलिसका ललित राजवंशीले ४ विकेट लिए। सागर ढकालले २ विकेट हात पारे। पुलिसको जितसँगै लुम्बिनी र प्रदेश २ प्रतियोगिताबाट बाहिरिएको छ। यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ।