अमेरिकाको न्यूजर्सीमा अध्ययनरत एक नेपाली विद्यार्थी बेपत्ता भएका छन्। नेपाल घर सिरहा भएका अजय साह बेपत्ता भएका हुन्। साह गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव साहले जानकारी गराएका छन्। साथै नेपाली समुदायले साहको खोजी गरिदिन आग्रह गरेको छ।
अढाई वर्षदेखि ड्रु विश्वविद्यालयमा अध्ययनरत रहेका साह बेपत्ता हुनुको कारण पनि खुलेको छैन। उनका दाजु पनि अमेरिकाकै टेक्सासमा बसोबास गर्दै आएकाले छन्।
भाइको खोजी गर्न न्यूजर्सी गएका शिवले पनि खोजीका लागि प्रहरीसँगै आफन्त र नेपाली समुदाय गुहारेका छन्। बेपत्ता साहका आफन्त अमितकुमार साहले पनि सामाजिक सञ्जालमार्फत् खोजीको अपिल गरेका छन्।
बेपत्ता भएका शाहलाई अन्तिम पटक न्यूजर्सीको नेवार्क–पेन स्टेसनमा जनवरी १९ को राति ११ः३७ मिनेटसम्म देखिएको बताइएको छ।
उनका दाजु शिव शाहका अनुसार विगत ६ दिनदेखि प्रहरीहरूले सुस्त रुपमा चाख लिएको र उनी हराएको बारेमा न्यूजर्सीको म्याडिसन र पेन स्टेसनमा जडान भएका सिसिटिभी क्यामेरा पनि राम्रोसँग नहेरेको बताएका छन्।
१०ः५३ देखि ११ः५२ सम्म उनी त्यतै भएकाले त्यहाँदेखि उनी हराइरहेको शिवले जानकारी दिएका छन्। उनले म्याडिसन प्रहरीलाई र न्यूयोर्क प्रहरीलाई समेत कुरा गर्न नेपाली समुदायलाई आग्रह गरेका छन्।
विगत ६ दिनदेखि सामाजिक सञ्जाल र फोनमा समेत कुनै क्रियाकलाप नभएको उनका दाजुले बताएका छन्। जनवरी १९ मा न्यूयोर्कमा आउनका लागि टिकट किनेको जस्तो देखिएको छ।
जनवरी ११ मा बिहान ११ बजेतिर टिकट किनेको देखिए पनि त्यसपछि कुनै कारोबार नदेखिएको उनले बताए। तर, उनी टिकट लिएर न्यूयोर्क आए–नआएकोबारे केही खुलेको छैन।
साहका आमाबुवा नेपालमै रहेका छन्। शिवले आफ्ना भाइको खोजीका लागि सबैलाई आग्रह गरेका छन्।