‘यो दाजुको मिरमिरे आँखा
कस्तो मेरो बिगार्यो दिमाख
नरोऊ मायालु।’
(गायक प्रवीण गुरुङ र बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक)
गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायककाे निधन भएको छ। गायकको उपचारको क्रममा आज बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो।
पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर गीतका सर्जक थिए। विसं २०२१ मा जन्मनुभएका गायक छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा उपचारत थिए।
गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आएका थिए। उनी ‘लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ’ भन्नेमा विश्वास गर्थे। गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बनेका थिए।
झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गरे तर उनको योगदानको कदर कहीँकतैबाट नभएकाले उनको स्मृति र सारङ्गी संरक्षणका लागि उक्त पाठशाला खोलिएको गायकले बताउँदै आएका थिए। एक दशकअघि दुई सारङ्गीबाट शुरु गरिएको सो पाठशालामा संरक्षकका रुपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहेका थिए।
लोकगीतको संरक्षणमा सक्रिय मियाँले दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरुप दिन १० सारङ्गी प्रदान गरेर गायकलाई हौसला थपेका थिए। उक्त पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरुले सारङ्गी रेट्न सिकिरहेका छन्।
सहपाठी, संस्कृतिकर्मी र लोकगायिकाका नजरमा धनबहादुर कृष्ण थापा, सहपाठी एवम् गण्डकी प्रदेशसभा सदस्य पोखरा– १६ बाटुलेचौरका धनबहादुर गायक र म स्कूले सहपाठी हौँ। सानैदेखि गीतसङ्गीतप्रति उनको रुचि जीवनका अन्तिम प्रहरसम्म उस्तै जीवन्त रह्यो। तत्कालीन समयमा म पोखराको मेयर हुँदा उनी कार्यालय सहयोगी थिए तर उनको सङ्गीतप्रतिको झुकाव देखी विन्ध्यवासिनी सङ्गीत पाठशाला खोलेर त्यसको जिम्मा उनलाई सुम्पियो।
उनी सारङ्गी र मादलका सम्राट् नै थिए। गन्धर्व समाजका संस्थापकसमेत रहेका उनी राम्रो गायक, रचनाकार पनि थिए। एकदमै मिलनसार, मुदुभाषी र सामाजिक व्यक्तित्व गायकको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पुर्याएको छ। मैले तत्कालीन समयमा मातृशिशु मितेरी अस्पतालको शिशुस्याहार केन्द्रको सानो भवन उपलब्ध गराएर सारङ्गी पाठशालाका सञ्चालनका लागि होस्टेमा हैँसे गरेको थिएँ।
बाटुलेचौरसँगै झलकमान र जनकविकेशरी धर्मराज थापा अनि पछिल्लो समय धनबहादुर गायकसँग लोकसंस्कृतिको गौरवको गाथा जोडिएको थियो। लोकगीत र संस्कृतिको उर्वरभूमि बाटुलेचौरमा अहिले लोकबाजा सारङ्गी सिक्न नयाँ पुस्तालाई उनले नै आकर्षित गरेका थिए। उनको निधनले गन्धर्व संस्कृतिमा ठूलो क्षति पुगेको छ।
तीर्थ श्रेष्ठ, साहित्यकार तथा संस्कृतिकर्मी
धनबहादुर गायक लोकसंस्कृति एक सशक्त धरोहर थिए। लामो समयदेखि म उहाँसँग परिचित छु, डाँफे कला मन्दिर आरम्भदेखि हामी सँगै भयौंँ। बहुप्रतिभाशाली उहाँ गायन, वाद्यवादन, नृत्य तीनै कुरामा पोख्त थिए। उनको गायक सरोजगोपालसँग पनि निकै राम्रो सम्बन्ध थियो। पोखराको कुनै पनि साङ्गीतिक गतिविधिमा धनबहादुर भएनन् भने के भएन जस्तो लाग्थ्यो। पछिल्लो समय झलकमान गन्धर्व सारङ्गी संरक्षण पाठशाला खोलेर उनले नयाँ पुस्तालाई सारङ्गी र मादल सिकाई संस्कृति हस्तान्तरण गरे।
यो उनको निकै महत्पूर्ण योगदान हो। उनले क्रिश्चियन धर्म अपनाए तापनि हिन्दूधर्ममा उस्तै आस्था र श्रद्धा थियो। विन्ध्यवासिनी मन्दिरमा दशैँका समयमा सारङ्गी र मादलको धुनबाट मादलबाट मालश्री धुन बजाउन उनले सहयोग गर्थे। पोखराको महत्वपूर्ण साङ्गीतिक सङ्घसंस्थामा उनको संलग्नता थियो, उनी जस्तो कर्मठ सर्जक सम्भवतः अब यस क्षेत्रमा पाउन निकै मुश्किल पर्नेछ।
हरिदेवी कोइराला, प्राज्ञ एवम् लोकगायिका
बाटुलेचौरको माटो लोकसंस्कृतिले सिञ्चित छ। गन्धर्व समुदायको बस्ती पनि यस क्षेत्रको एउटा विशेषता हो। सामाजिक मूल्यमान्यता, रहनसहन, संस्कृति र संस्कारको प्रतिविम्ब लोकगीतको मौलिकतामा भेटिने यस क्षेत्रका सर्जक धनबहादुर गायकको निधनले अपूरणीय क्षति पुर्याएको छ।
उनी अजर –अमर गीतका सर्जक मात्र नभई कुशल वाद्यवादक पनि थिए। उनी पोखरेली सङ्गीतका क्षेत्रमा मात्र नभई नेपालको सङ्गीत क्षेत्रको एउटा असल सङ्गीतकर्मी पनि थिए। उनी पुर्खाको चिनोलाई जर्गेना गर्न तल्लीन भए उनले पछिल्लो पुस्तालाई सारङ्गीको संरक्षणमा सहभागी गराए। लोकसंस्कृति विशेष गरी सारङ्गी संरक्षणमा उनले पुर्याएको योगदान निकै महत्वपूर्ण छ।