प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतकाे खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध एपीएफ क्लब विजयी भएको छ। यससँगै एपीएफ समूह विजेता र आर्मी उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन्।
टियु क्रिकेट मैदानमा सोमबार त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो। एपीएफले दिएको २ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन सक्यो।
आर्मीका लागि अनिल मण्डलले सर्वाधिक ४५ रन बनाए। त्यस्तै राजेश पुलामीले ३३ रन, रोहित पौडेलले ३० रन बनाए। बिक्रम सोबले २८ र भिम कार्कीले २७ रनको योगदान दिए। बलिङमा एपीएफका कमल ऐरीले ३ र भुवन कार्कीले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४० रन बनाएको थियो। एपीएफका लागि सुमित महर्जनले ४६ रन र सुवास खकुरेलले ३८ रन बनाए। त्यस्तै, सन्दीप जोराले २८, कप्तान शरद भेषवाकर २४ रन बनाए।
बलिङमा आर्मीका हरि चौहानले ५, साहब आलमले २ विकेट लिए। अब एपीएफले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।