बृहत् नागरिक आन्दोलन–२७७ ले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गरेको छ। लेखक, पत्रकार, कवि, विद्यार्थीलयागतका नागरिकहरु सहभागी शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको हो।
कमलपोखरीबाट बालुवाटारतर्फ लम्किएको नागरिक र्यालीलाई प्रहरीले भाटभटेनी छेउमा रोकेको थियो। ठूलो संख्यामा रहेका प्रहरीले पानीका फोहोरा बर्साउँदै नागरिकलाई तितरबितर पार्ने प्रयास गरेको थियो। त्यसक्रममा मानव अधिकारकर्मी कृष्ण पडाडीलगायक केहि अगुवाहरु पक्राउ परेका छन्।
शान्तिपूर्ण आन्दोलनमा उत्रिएका नागरिकमाथि दमन भएसँगै विभिन्न क्षेत्रका व्यक्तिहरुले देशमा तेस्रो जनआन्दोलन शुरु भएको बताएका छन्। लेखक नारायण वाग्लेले तेस्रो जनआन्दोलन शुरु भएको घोषणा गरेका छन्। आन्दोलन शान्तिपूर्ण हुँदाहुँदै प्रहरी दमन भएकाे बताउँदै उनले अलोकतान्त्रिक कदमको विरोध गरिरहने जानकारी दिए।
नेकपा नेता रघुजी पन्तले प्रहरीको कदम अलोकतान्त्रिक र असहिष्णु भएको जानकारी दिएका छन्। नागरिक आन्दोलनमा ऐक्यबद्धता जनाउन गएको पन्तले आफू घाइते भएको बताए। उनले हरेक जिल्लाबाट संसद् विघटनविरुद्ध नागरिकहरु उठ्नुपर्ने बताउँदै लाठी खाएरै भएपनि प्रतिरोधको आवाज देशभर पुर्याउन लाग्नुपर्ने जानकारी दिए।