नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छन्। सोमबार उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटे गरेका हुन्।
बेरी र देउवाबीच भएको भेटमा लोकतन्त्रको सबलीकरण, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको दूतावासले जानकारी दिएको छ।
त्यस्तै खुमलटारमा भएको प्रचण्ड र बेरीबीचको भेटमा बेरीले प्रजातन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसँग जुध्न र संसारभरि महिला र बालिकाको अधिकारका लागि अमेरिकाको प्रतिवद्धता दोहोर्याएको बताएका छन्।
राजदूत बेरीले प्रचण्डसँगको भेटपछि ट्वीटरमा लेखेका छन्, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छलफल गर्ने शृंखलाबद्ध भेटवार्ताका क्रममा मैले दाहाललाई भेटेको हुँ। मैले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने र विश्वभर महिला र बालिकाहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्याएको छु।’
यसअघि राजदूत बेरीले माघ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटघाट गरेका थिए। नेपालमा पछिल्लो समय अमेरिकी सहयोग एमसिसी विवादमा परेको छ।