प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सरसफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ।
प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८सय ५१ र ७ सय २५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५ सय ७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा प्रदेशमा पठाइएको नौ हजार ६ सय भायल मात्रा खोप प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीले बताएका छन्।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा प्रदेशका १४ जिल्लासहित प्रदेश नं २ को सिरहा र सप्तरी जिल्लाका लागि पठाइएको खोप प्राप्त भएको उनले जानकारी दिए।
प्रदेशका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा ताप्लेजुङका १४ हजार तीन, धनकुटाका ८ सय ३१, उदयपुरका एक हजार २ सय ३७, भोजपुरका एक हजार १ सय ७६, मोरङका १२ हजार ५६, इलामका एक हजार ६ सय ९०, ओखलढुङ्गाका एक हजार ३ सय ६६, खोटाङका एक हजार ६ सय, झापाका चार हजार ९ सय ७७, तेह्रथुमका ७ सय २३, संखुवासभाका ९ सय ४९, सोलुका ६ सय ८६, सुनसरीका पाँच हजार २ सय ३३ र पाँचथरमा ९ सय २४ लाई खोप लगाइने भएको छ।