प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार बिहान ९ बजे शुरु हुनेछ।
एपीएफ समूह ए को विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको थियो। उसले समूह चरणमा भएको चारै खेलमा जीत निकालेको थियो। पहिलो खेलमा प्रदेश १ लाई १ सय ३५ रनले पराजित गरेको एपीएफले दोस्रो खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ७१ रनको जीत निकालेको उसले समूहको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ रनले हराएको थियो।
त्यस्तै, नेपाल पुलिस क्लबले समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो। समूह चरणको ४ खेलमध्ये उसले तीन खेलमा जीत निकालेको थियो भने एक खेलमा हार बेहोरेको थियो। पहिलो खेलमा बागमती प्रदेशसँग ७ विकेटले हारेको पुलिसले दोस्रो खेलमा सूदुरपश्चिम प्रदेशलाई ९ विकेटले हरायो। त्यस्तै, तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ७४ रन तथा समूहको अन्तिम खेलमा प्रदेश २ लाई ४ विकेटले हराउँदै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको थियाे।
समूह चरणमा शतप्रतिशत जीत निकालेको एपीएफ र उत्कृष्ट लयमा रहेको पुलिसबीचको सेमिफाइनल खेल प्रतिस्पर्धात्मक हुने सहज अनुमान गर्न सकिन्छ। यहाँ, हामी पहिलो सेमिफाइनल खेलमा प्रभाव पार्न सक्ने १० खेलाडीको चर्चा गरौं।
सुनिल धमला
नेपाल पुलिस क्लबका खेलाडी सुनिल धमलाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। पुलिसका मुख्य ब्याट्सम्यानमध्येका एक सुनिलले समूह चरणको ४ खेलमा १ सय ८७ रन बनाइसकेका छन्। लुम्बिनीविरुद्ध १ सय ४ रनको शतकीय पारी र सूदुरपश्चिमविरुद्ध ५३ रनको अर्धशतकीय पारी खेलेका उनले बागमतीविरुद्ध १७ रन र प्रदेश २ विरुद्ध १३ रन बनाएका थिए।
दिपेन्द्र सिंह ऐरी
राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान पनि रहेका दिपेन्द्र सिंह ऐरी पुलिस क्लबका उत्कृष्ट खेलाडीमध्येका एक हुन्। प्रतियोगिताकाे ३ खेलमा ब्याटिङ गरेका उनले कुल १ सय २३ रन बटुलिसकेका छन्। लुम्बिनीविरुद्ध ६१ बलमा ८५ रनको विस्फोटक ब्याटिङ गरेका उनले बागमतीविरुद्ध २१, प्रदेश २ विरुद्ध १७ रन बनाएका थिए।
कुशल भुर्तेल
कुशल भुर्तेल पुलिस क्लबका कुशल ब्याट्सम्यान हुन्। उनले समूह चरणका ४ खेलमा १ सय १७ रन बनाइसकेका छन्। सूदुरपश्चिमविरुद्ध ५१ रनको अर्धशतकीय पारी खेलेका उनले प्रदेश २ विरुद्ध ४३ रन, लुम्बिनीविरुद्ध ६ तथा बागमतीविरुद्ध १७ रन बनाएका छन्।
सागर ढकाल
प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका सागर पुलिसका मुख्य बलर हुन्। समूह चरणका ४ खेलमा उनले ७ विकेट लिइसकेका छन्। सूदुरपश्चिमविरुद्ध ४ विकेट लिएका सागरले प्रदेश २ विरुद्ध २ तथा लुम्बिनीविरुद्ध एक विकेट लिएका थिए। बागमतीविरुद्धको खेलमा उनी विकेटविहीन भएका थिए।
ललित राजवंशी
ललित राजवंशी विपक्षी टिमका ब्याट्सम्यानलाई धरासयी बनाउने पुलिसका मुख्य हतियार हुन्। उनले समूह चरणको ४ खेलमा ६ विकेट लिइसकेका छन्। प्रदेश २ विरुद्ध ४ विकेट लिएका ललितले लुम्बिनी र बागमतीविरुद्ध समान एक–एक विकेट लिएका थिए। सूदुरपश्चिमविरुद्ध उनी विकेटविहिन भएका थिए।
आसिफ शेख
आसिफ शेख प्रतियोगितामा एपीएफका लागि सर्वाधिक धेरै रन बनाउने खेलाडी हुन्। समूह चरणका ३ खेलमा उनले १ सय ४४ रन बनाइसकेका छन्। गण्डकी प्रदेशविरुद्ध ५६ बलमा ७८ रनको शानदार पारी खेलेको आसिफले प्रदेश १ विरुद्ध ५९ रनको विस्फोटक अर्धशतक बनाएका थिए। आर्मीविरुद्ध ७ रन बनाएका उनले कर्णालीविरुद्ध ब्याटिङ गरेनन्।
सन्दीप जोरा
उत्कृष्ट लयमा रहेका सन्दीप जोरा एपीएफका मुख्य ब्याट्सम्यानमध्ये एक हुन्। समूह चरणका ३ खेलमा उनले कुल १ सय १८ रन बनाइसकेका छन्। कर्णालीविरुद्ध ६० रनको अर्धशतकीय पारी खेलेका जोरोले प्रदेश १ विरुद्ध ३० रन र आर्मी क्लबविरुद्ध २८ रन जोडेका थिए।
सुमित महर्जन
सुमित महर्जन उदीयमान खेलाडीका रुपमा देखिएका छन्। राम्रो लयमा देखिएका उनले एपीएफको लागि ४ खेलमा ८८ रन जोडेका छन्। आर्मीविरुद्ध ४६ रन बनाएका उनले प्रदेश १ विरुद्ध १४ रन, गण्डकीविरुद्ध १८ र कर्णालीविरुद्ध १० रन जोडेका थिए।
अविनाश बोहरा
अविनाश बोहरा एपीएफका मुख्य तथा बलियो हतियार हुन्। समूह चरणका ३ खेलमा अविनाशले ८ विकेट लिइसकेका छन्। प्रदेश १ विरुद्ध ५ विकेट लिएका अविनाशले गण्डकीविरुद्ध २ र आर्मीविरुद्ध एक विकेट लिएका थिए।
कमल ऐरी
एपीएफका अर्का मुख्य बलर हुन् कमल ऐरी। कमलले ४ खेलमा ७ विकट लिइसकेका छन्। प्रदेश १ र कर्णालीविरुद्ध विकेटविहिन भएका उनले आर्मीविरुद्ध ३ र गण्डकीविरुद्ध ४ विकेट लिएका थिए।