नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नागरिक आन्दोलनमाथि भएको दमनप्रति आपत्ति भएको जानकारी दिएको छ। प्रचण्ड–नेपाल समूहले सरकारले स्वतन्त्ररुपमा संसद् विघटनविरुद्ध सडकमा आएका नागरिकहरुमाथि गरेको धरपकडको विरोध गरेको हो।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै नागरिक समाजले काठमाडौंमा गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले क्रुरतापूर्वक हमला गर्नु निन्दनीय र खेदजनक भएको बताएका हुन्।
सरकारले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक अधिकारको सम्मान नगरेको बताउँदै त्यस्ता कार्यक्रममा दमन र हस्तक्षेप नगर्न सो समूहले सरकारलाई चेतावनी दिएको छ।