केही महिनायता जापानभर कोरोना संक्रमितदर उच्च भएसँगै संक्रमितहरूले समयमै उपचार नपाउने समस्या बढेको छ। अस्पतालमा संक्रमितहरूको चाप बढ्नुका साथै उपचारका लागि आवश्यक शैय्याको अभाव हुँदा घरमै प्रतिक्षारत बिरामीहरूको संख्यामा बृद्धि भएको हो।
क्योदो न्यूज सर्भेका अनुसार १५ हजार ५८ जना कोरोना संक्रमितहरू अस्पताल वा तोकिएको आवासका लागि पर्खाईको सूचीमा रहेका छन्। अस्पतालको पालो कुरिरहेका संक्रमितहरूको संख्या थपिएसँगै समयमा उपचार नपाउँदा घरमै मृत्यु हुनेहरूको संख्या पनि बढिरहेको छ।
यस महिनाको शुरुआतदेखि गत मंगलबारबाट घरमै पर्खिन बाध्य संक्रमितहरूको संख्या तीव्र गतिमा बढेको बताइएको छ। टोकियोमा मात्रै यो संख्या ५ गुणाले बढेको छ।
कोरोना संक्रमित व्यक्तिहरूका लागि अस्पताल वा आवासको प्रबन्ध जापानका स्थानीय सार्वजनिक स्वास्थ्य केन्द्रहरूले गर्दै आइरहेका छन्।
गत नोभेम्बरबाट कोरोना संक्रमितहरूको संख्या अत्यधिक बढ्न थालेपछि अस्पताल तथा आवासीय व्यवस्थाका लागि लामो समय लागिरहेको छ। जसले गर्दा संक्रमितहरु घरमै कुर्न बाध्य भएको स्थानीय निकायले जानकारी दिएका छन्। अति संवेदनशील अवस्थाका केही संक्रमितहरू समयमै उपचार नपाउँदा घरमै ज्यान गुमाउन बाध्य भएका छन्।
आपतकाल घोषणा गरिएका ११ प्रिफेक्चरहरूमध्ये टोकियोमा सबैभन्दा धेरै संक्रमितहरू अस्पताल वा अन्य आवासीय सुविधाको पर्खाईमा छन्। यो संख्या गत डिसेम्बरबाट ४।८ अनुपातमा बृद्धि भई १ हजार ५ सय ६३ बाट ७ हजार ५ सय ३९ मा पुगेको छ। अन्य प्रिफेक्चरहरुको अवस्था पनि उस्तै रहेको छ।
स्थानीय सरकारले संक्रमितहरूको अनुपातमा उपचार स्थलहरूको सक्दो व्यवस्थापन गरिरहेको जानकारी दिएको छ। टोकियोले नयाँ कोरोना संक्रमित संख्या दैनिक ५ सय तथा ओसाकाले १ सय ६० अनुमान गरेका थिए। यद्यपि जनवरी ७ मा तोकियोमा हालसम्मकै उच्च २ हजार ४ सय ४७ र ओसाकामा ६ सय ५४ नयाँ संक्रमितको रेकर्ड भएको छ।
अहिलेसम्म कोरोना संक्रमितहरूको उपचार सरकारद्वारा सञ्चालिन अस्पतालहरूले गर्दै आएको भएपनि निजी अस्पतालहरूले पनि बिरामी भर्नामा सहयोगको अपेक्षा सरकारले गरेको छ।
तर, विज्ञहरूका अनुसार साना तथा मध्यमस्तरको निजी अस्पतालमा कोरोना संक्रमितहरूको उपचारका लागि आवश्यक पूर्वाधार तथा कर्मचारीको अभाव रहेको छ।
बढ्दो संक्रमण कम गर्न टोकियो लगायत आसपासको ३ प्रिफेक्चरमा जनवरी ७ देखि १ महिने लामो आपतकाल घोषणा गरिएको छ। पछि अन्य ७ प्रिफेक्चरमा पनि आपतकाल विस्तार गरिएको छ।
आपतकालिन अवस्था अन्तर्गत मानिसहरूलाई अनावश्यक काममा घरबाहिर ननिस्कन आग्रह गरिएको छ। होटल तथा रेष्टुरेण्टहरूलाई पनि कार्य समय घटाउन भनिएको छ।