नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट शुरु हुने भएको छ। पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई खोप दिइने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले विहान १० बजे बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाउनेछन्।
शुक्रराजस्थित टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकु अस्पतालको तर्फबाट पहिलो खोप लगाउने घोषणा गरेका छन्।
कोभिडशिल्ड बायाँ पाखुरामा लगाइन्छ। यो खोप लगाएपछि खोप लगाएको ठाउँ सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट हुन सक्ने चिकित्सकहरुले बताएका छन्।
चिकित्सकहरुका अनुसार १८ वर्ष उमेर नपुगेकाले यो खोप लगाउन हुँदैन। यसैगरी कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवतीहरूलाई पनि खोप नलगाउन चिकित्सकहरुले सुझाएका छन्। त्यस्तै पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिइने छैन।