नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि देशभर शुरु भएको छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन शुरु गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान शुरु गरेका हुन्। नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन्। कोरोनाविरुद्धको सुरक्षित खोप लगाउन डराउनु पर्दैन भन्ने सन्देश दिन आफूले शुरुमै खोप लगाएको उनले बताएका छन्। त्यस्तै डा. अनुप बाँस्तोला र डा.रुना झाले पनि कोरोना खोप लगाएका छन्।
काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाएका छन्।
बुधबार १२ हजार जनाले खोप लगाउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए। पहिलो चरणको अभियान १० दिनभित्र सम्पन्न हुने बताइएको छ।