नेपाल तेक्वान्दो महासंघ (एनटिएफ)ले २ जना केन्द्रीय सल्लाहकार र प्रदेश २ को संयोजक तोकेको छ। बुधबार महासंघले निजगढ नगरपालिकाका उपप्रमुख लिलादेवी लामिछाने खनाल र वडा नं.२ का वडाध्यक्ष केशवप्रसाद उपाध्याय ढोडारीलाई केन्द्रिय सल्लाहकार तोकेको हो।
त्यस्तै नेपाल तेक्वान्दो महासंघ प्रदेश २ को संयोजकमा निजगढ नगरपालिका वडा नं. ४ का अध्यक्ष जयराम कुमरलाई मनोनित गरिएकाे छ। कुमरलाई २ महिनाभित्रमा केन्द्रसँग समन्वय गर्दै प्रदेश भित्र रहेका जिल्लाहरुमा संयोजक चयन गर्ने अधिकारसहित जिल्ला एवं प्रदेश समिति गठन गर्न जिम्मेवारी दिइएको छ।
जनप्रतिनिधि समेत रहेका सल्लाहकार खनाल, ढोडारी र संयोजक कुमर निजगढ एवं बारा जिल्लास्तरमा विकासप्रेमि, सामाजिक अभियान्ता हुन्। उनीहरूले खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका छन्।
महासंघका महासचिव सुदिपचन्द्र बख्रेलका अनुसार नेपाल तेक्वान्दो महासंघले विश्वका विभिन्न तेक्वान्दो संस्थासँग सम्बन्धन पाएको छ। एनटिएफले विश्व सङमोक्वान संघ(अमेरीका), तेक्वान्दो अन्तर्राष्ट्रिय(बेलायत), अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ युनियन(आयरल्यान्ड), अन्तर्राष्ट्रिय परम्परागत तेक्वान्दो महासंघ(स्पेन) र विश्व तेक्वान्दो परिषद्(जर्मनी) बाट सम्बन्धन पाएको छ।
महासंघमा नेपाल परम्परागत तेक्वान्दो महासंघ, इन्टरनेशनल चाङहोन तेक्वान्दो महासंघ नेपाल, आइटिएफ नेपाल, नेपाल सङमोक्वान संघ र साङरोक नेपाल तेक्वान्दो एकेडेमी लगायतका तेक्वान्दो संघहरु आबद्ध छन्।