एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो। २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ४९.२ ओभरमा अलआउट हुँदै १ सय ७३ रन बनायो। पुलिसका लागि पवन सराफले ४० रन र राशिद खानले ३४ रन तथा दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए।
त्यस्तै, अनिल साहले २१ रनको योगदान दिँदा ओपनर सुनिल धमलाले ३ रन जोडे। कुशल भुर्तेल बोल्ड आउट भए। यसैगरी, आरिफ शेखले १६ रन, अमित श्रेष्ठले ८, कप्तान मञ्जित श्रेष्ठले ३ रन जोडे। पुलिसको बलिङमा भुवन कार्कीले ४ विकेट लिए। शरद भेषवाकर, कमल ऐरी र अविनाश बाेहराले समान २–२ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो। खराब शुरुवात गरेको एपीएफका लागि शंकर रानाले ४४ रन, भुवन कार्कीले ४२ रन बनाए। त्यस्तै, सन्दीप जोराले ३४ रनको योगदान दिँदा कप्तान शरद भेषवाकरले १८ रन बनाए। ओपनर सुवास खकुरेलले १९ रन र कमल ऐरीले १९ रन बनाए।
बलिङतर्फ पुलिस क्लबका आरिफ शेखले १० ओभरमा ३१ रन खर्चिँदै ३ विकेट लिए। त्यस्तै, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान २–२ विकेट लिए। सागर ढकाल, रासिद खानले एक–एक विकेट हात पारे।