भारतीय प्रहरीले १८ महिलाको हत्या गरेको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ। पक्रउ पर्नेमा ४५ वर्षका रमुलु रहेका छन्। उनले विगत १७ वर्षमा १८ महिलाको हत्या गरेको बताइएको छ।
२१ वर्षको उमेरमा रमुलुको बिहे भएको थियो। तर, केही समयपछि नै उनकी पत्नी अर्कैसँग भागिन्। त्यसपछि रमुलुलाई महिला जातिसँग नै घृणा हुन थाल्यो र उनले महिलाहरुको हत्या गर्न थाले। पुलिसका अनुसार उनले २००३ देखि नै महिलाको हत्या गरिरहेका थिए।
गत जनवरी ४ मा भएको पछिल्लो हत्याको अनुसन्धान गर्ने क्रममा उनी पक्राउ परेका हुन्। ४ जनवरीमा हैदराबादको जुबली हिल्समा भएको एक महिलाको हत्याको अनुसन्धान गर्ने क्रममा सिरियल किलर रमुलुलाई पक्राउ गरिएको हो। सिरियल किलर रमुलुले वेंकटम्मा नामकी युवतीको हत्या गरेपछि उनको अनुहारमा पेट्रोल हालेर जलाइदिएका थिए।
प्रहरीका अनुसार रमुलुले एक्ली महिलालाई यौनको बदलामा पैसा दिने लोभ देखाउँथे र त्यसपछि हत्या गर्थे। मदिरा वा ताडी सेवन गरेपछि उनी महिलाहरुको हत्या गर्थे र त्यसपछि उनीहरुको मूल्यवान सामान चोरेर भाग्थे। घटनाबारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जानकारी दिएको छ।