सरकारले आज शुभारम्भ गरिएको कोभिड–१९ विरुद्धको खोपमा उत्साहजनक सहभागिता भएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै खोप कार्यक्रममा सबै खोप केन्द्रमा उत्साहजनक सहभागिताले खोपप्रतिको विश्वास र अभियानको सफलता स्पष्ट दर्शाएको बताएका छन्।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड–१९ विरुद्धको खोप कोभिशिल्डको शुभारम्भ गरेका थिए। आज दिउँसो १ बजेसम्म प्रदेश नं १ मा १२७, प्रदेश नं २ मा ५४०, वाग्मती प्रदेशमा एक हजार दुई, गण्डकी प्रदेशमा ३०६, लुम्बिनी प्रदेशमा २२३, कर्णाली प्रदेशमा ३९८ र सुदूरपश्चिम प्रदेशमा ३०५ गरी कूल दुई हजार ९०१ जनाले खोप लगाएका छन्।
प्रवक्ता प्रा. डा. गौतमले अहिलेसम्म कुनै अवाञ्छित घटना नभएको बताए। खोप कार्यक्रम अभियान देशभरिका ३०० खोप केन्द्रबाट स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपक्तिमा खटिने सेवा प्रदायकलाई १० दिनभित्र खोप दिइने छ। पहिलो चरणको खोप कार्यक्रमअन्तर्गत चार लाख ३० हजार जनालाई लगाउने लक्ष्य मन्त्रालयको छ।
यस्तै, आज मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा. अर्चना श्रेष्ठले कोभिशिल्ड खोपको प्रभावकारिता ६२ प्रतिशत रहेका र कुनै समस्या नगर्ने भएकाले ढुक्क भएर खोप लगाउन सबैसँग आग्रह गरिन्।
अहिले विश्वमा ९५ वटा खोप विकासको चरणमा र दुई वटा खोपले मान्यता पाइसकेका तथा आठ वटा खोप विभिन्न मुलुकले आकस्मिक प्रयोगका लागि प्रयोग गरिसकेका छन्। कोभिशिल्ड खोप २४ हजारमा परीक्षण गरिएको थियो। जसमध्ये १२ हजार ३१ ले खोप लगाएका थिए। जसमा हजारमा सात जनामा मात्र स्वास्थ्य समस्या देखिएको थियो। यो खोपको कारणले स्वास्थ्य समस्या नगण्य रुपमा देखिएको अध्ययनले देखाएको छ। खोप लगाएर कसैको पनि निधन नभएको सहप्रध्यापक डा. श्रेष्ठले बताइन्।
ब्राजिल, दक्षिण अफ्रिका र अमेरिकामा भएको अनुसन्धानले खोप प्रभावकारिता ६२ प्रतिशत देखिएको छ। आठ हजार ८९५ जना अध्ययनमा भाग लिँदा चार हजार ४५५ लाई खोपजस्तै सुई मात्र दिएको थियो। त्यसमा हजारमा १६ लाई सङ्क्रमण देखिएको थियो भने चार हजार ४४० लाई खोप दिँदा जम्मा हजारमा छ जनालाई खोप संक्रमण देखिएको अध्ययनले देखाएको डा. श्रेष्ठले बताइन्।
(तस्वीरहरू : रासस)