चन्द्रागिरि नगरपालिकाको सर्वाधिक राशिको ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को तयारी पूरा भएको छ।
शुक्रबार र शनिबार चन्द्रागिरि–९ स्थित मत्छ्य फुटसल मैदानमा आयोजना हुने सो प्रतियोगितामा नगरका १५ वडाका २५ टिमबीच प्रतिष्पर्धा हुनेछ। चन्द्रागिरि–५ र नगरपालिका स्वयं आयोजक रहेको सो प्रतियोगिताको संयोजन वेष्टर्न युनाइटेड क्लबले गरेको छ।
प्रतियोगिताका बारेमा जानकारी दिन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामनारायण घिमिरेले प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ७५ हजार रुपैयाँ र ४० हजार रुपैयाँ सहित ट्रफी र पदक र अन्य चार विधामा उत्कृष्ट हुनेलाई पाँच हजार रुपैयाँ सहित पदक प्रदान गरिने जानकारी दिए। ती विधामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपर रहेका छन्।
उनले भने, ‘फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ। चन्द्रागिरि नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ।’ कोरोना कहरले आक्रान्त खेलकूद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुङ्गाको काम गर्ने क्लबका उपाध्यक्ष साजन महर्जनले बताए। पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ।
प्रतियोगिता अन्तर्राष्ट्रिय नियमलाई पालना गरी खेलाइने आयोजकले जनाएका छन्। नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले युवापुस्तालाई खेलकूदमा थप आकर्षित गरी खेल क्षेत्रको विकास गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको जानकारी दिए।
उनले भने, ‘युवा समाजका परिवर्तनका संवाहक शक्ति हुन्। उनीहरुको क्षमता र प्रतिभा विकासमा सबैले सहयोग गर्नुपर्छ। यसलाई खेलकूदले सहयोग गर्नेछ।’ नगर प्रमुख घनश्याम गिरीले प्रतियोगिताका सहभागीलाई पोशाक वितरण गरे।