ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको बताएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल ११७ औं स्थानमा परेको हो।
१८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल ३३ अंकसहित गत वर्षभन्दा ४ स्थान तल झरेको छ। गत वर्ष यस सूचीमा नेपालको अंक ३४ (११३ औं स्थान) थियो।
विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकांकसहितको रिपोर्ट तयार पारिएको हो। रिपोर्टमा भ्रष्टाचारका कारण कोभिड–१९ महामारी रोकथामका प्रयास कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको उल्लेख छ। यो संस्थाले राज्यका प्रमुख अंगहरुमा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोगबारे सर्वेक्षण गर्छ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकांकअनुसार न्युजिल्यान्ड ८८ अंकसहित सुशासन कायम राख्ने मुुलुकहरुमध्ये पहिलो स्थानमा रहन सफल भएको छ। त्यस्तै डेनमार्क पनि ८८ अंकसहित सीपीआईको र ऱ्याङ्किङमा पहिलो स्थानमै रहेको छ।
सीपीआई २०२० मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भारत ४० अंकसहित ८६औं स्थानमा रहेको छ। त्यस्तै भुटान ६८ अंक प्राप्त गरी २४ औं स्थानमा, मालदिभ्स ४३ अंक प्राप्त गरी ७५ औं स्थानमा, भारत ४० अंक प्राप्त गरी ८६ औं स्थानमा, श्रीलंका ३८ अंक प्राप्त गरी ९४ औं स्थानमा, पाकिस्तान ३१ अंक प्राप्त गरी १२४ औं स्थानमा, बंगलादेश २६ अंक प्राप्त गरी १४६ औं स्थानमा र अफगानिस्तान १९ अंक प्राप्त गरी १६५ औं स्थानमा रहेका छन्। चीन ४२ अंक प्राप्त गरी ७८ औं स्थानमा छ।