दुई समूहमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षलाई छलफलका लागि निर्वाचन आयोगले बोलाएको छ। प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएको हो।
आयोगका प्रवक्ता रामकुमार श्रेष्ठका अनुसार छुट्टा–छुट्टै पत्रमार्फत् निर्वाचन कार्यक्रमसम्बन्धी छलफल गर्न अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५–५ जनालाई बोलाइएको हो।
आयोगले शुक्रबार बिहान साढे ११ बजे छलफलको समय तोकेको छ। श्रेष्ठका अनुसार दलसम्बन्धी विवादबारे पत्रमा केही उल्लेख गरिएको छैन। तर, नेकपाको विवादबारे छलफल हुने छ।
मध्यावधि निर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले आवश्यक तयारीबारे छलफल गर्न दुवै पक्षलाई बोलाइएको श्रेष्ठले बताए।
निर्वाचनसम्बन्धी कानूनमाथि पनि छलफल हुने छ। नेकपा ओली समूह र प्रचण्ड समूहले पार्टीको आधिकारिकता दावी गरे पनि आयोगले पर्याप्त आधार नपुगेकाले मागदाबी नपुग्ने ठहर गरिसकेको छ।