चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई २ सय ३० रनको विजय लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रनको योगफल बनायो। आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ६५ रनको योगदान दिए।
त्यसैगरी भीम सार्कीले ४० रन जोड्दा विक्रम सोबले ३५ रन बनाए। लोकेश बमले २३, सुशन भारीले १६ तथा कप्तान विनोद भण्डारीले १० रन जोडे। यता वाग्मतीका गौतम केसी एक्लैले पाँच विकेट लिए। आज दुवै टिम जित निकाल्ने योजनामा रहेका छन्। यस खेलको विजेताले फाइनलमा एपिएफसँग भिड्नेछ।
यसअघि भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।