कुवेत–इराकको सीमावर्ती क्षेत्र अब्दलीबाट दुई किलोमिटर टाढा मरुभूमिको बीचमा एक नेपालीको कंकाल क्षतविक्षत अवस्थामा फेला परेको छ। यसरी मरुभूमिको बीचमा मृत्यु भई कंकाल मात्र भेटिएको नेपालीको पहिचान हुन सकेको छैन।
कुवेतबाट प्रकाशित अरब टाइम्समा बुधबार प्रकाशित समाचारमा भनिएको छ, ‘निकै निर्ममतापूर्वक हत्या गरिएजस्तो देखिएको उक्त कंकाल बालुवाले ढाकेको अवस्थामा फेला परेको थियो।’
जंगली कुकुरहरूले उक्त ठाउँमा खोस्रिँदा कंकाल भेटिएको हो। त्यही क्षेत्रमा काम गर्ने कामदारहरूले कुवेतको स्थानीय प्रहरीलाई खबर गरी घटनाबारे जानकारी गराएका थिए।
फौजदारी घटना विभाग (सिइडी)ले घटनामा मृत्यु हुनेको पहिचानदेखि हत्या गरे–नगरेको तथा हत्या गरिएको भए हत्यारा पहिचान गर्न अनुसन्धानलाई तीव्रता दिएको समाचारमा उल्लेख गरिएको छ।
यसैबीच, नेपाली राजदूताबास कुवेतले पनि नेपाली नागरिकको कंकाल भटिएकोबारे समाचार आएपछि घटनाको पूर्ण जानकारीका लागि सम्बन्धित निकायहरू स्थानीय प्रहरी तथा फौजदारी घटना विभाग (सिइडी) सँग समन्वय गरिरहेको बताएको छ।
साथै दूताबासमा आफन्त हराएको गुनासोहरू आएका कम्पनीहरूसँग पनि दूताबासले सम्पर्क गरिरहेको छ। दूताबासले प्रहरी तथा फौजदारी घटना विभाग (सिइडी) ले सत्यतथ्य पत्ता लगाउन अनुसन्धान र मेडिकलका विभिन्न विधिहरू अपनाउँदै मृत्युबारे पूर्ण जानकारी दिएपछि मात्र वास्तविकता पत्ता लाग्न सक्ने बताएको छ।