वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने जानकारी दिएका छन्।
शहीद दिवसका उपलक्ष्यमा शहीद स्मारक विकास समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शहीदका सपना साकार पार्न प्रमुख दलले नै आपसी वादविवाद होइन, जनता र राष्ट्रप्रति जवाफदेही हुनुपर्ने अवस्था आएको बताए।
कार्यक्रममा वाग्मती प्रदेशसभाका कांग्रेस प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले शहीदले गरेको त्यागलाई उच्च सम्मान गर्नुपर्छ भने।
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, समितिका उपाध्यक्ष रामेश्वर रानाले सत्ता राजनीतिको होडबाजीलाई त्यागेर विकासप्रति एकजुट हुन आग्रह गरे। उपमहानगरपालिका–११ स्थित थानाभर्याङबाट निस्केको र्यालीले शहीद स्मारक पुगी शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको थियो।
स्मारकमा श्रद्धाञ्जलि अर्पण
शहीद दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका–११ नवलपुरस्थित अमर शहीद स्मारकमा आज पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो।
वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, मुख्यमन्त्री पौडेल, मन्त्रीहरु क्रमशः विभिन्न दलहका नेता एवं सुरक्षा निकायका उच्च पदस्थ अधिकृतले अमर शहीदको स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए। सोही अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो।