नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ। आयोगले बिहीबार नेकपाका ओली र प्रचण्ड–नेपाल समूहलाई छलफलका लागि बोलाएको थियो।
तर प्रचण्ड–नेपाल समूहले नेकपाको दुबै समूहसँग गर्न लागिएको छलफल केही दिन पर सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। समूहका नेताहरुले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित जानकारी दिएको छ।
अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको र आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले शुक्रबारको छलफलमा सहभागी हुन नसक्ने प्रचण्ड–नेपाल समूहले बताएको छ।
ओली समूहका नेता विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरुले भने आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने नेताहरुले बताए।