नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको नाम नेपालको इतिहासमा जनताको अधिकार खोस्ने शासकको पंक्तिमा लेखिने बताएका छन्। प्रतिनिधि सभा विघटनविरुद्धको विरोध सभामा बोल्दै उनले संविधानतः बहुमत प्राप्त सरकराले संसद् विघटन गर्न नपाउने स्पष्ट पारेका छन्।
‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे घर जाने हाे, घर जान मन नलागे वन जाने’, उनले भने, ‘भारतको संविधानले यसो भन्छ, बेलायतको संविधानले यसो भन्छ भन्ने हो भने भारत जानुस्, बेलायत जानुस्, यो नेपाल हो प्रधानमन्त्री ज्यू, यहाँ नेपालको संविधानले जे भन्छ त्यही गर्नुपर्छ।
कार्यक्रममा उनले ओलीको तानशाही प्रवृत्तिमा प्रचण्ड–नेपालकोसमेत हात रहेको आशय व्यक्त गरे। कम्उुनिष्टका बारेमा केही बोल्नै नपर्ने बताउँदै उनले दुई भागमा विभाजित नेकपाका नेताहरु एकअर्कालाई नङ्ग्याउन लागेकाले जनताले आफैंले सबै कुरा बुझ्ने बताए।
नेता थापाले संविधानको टाकुरामा रहेर ओलीले संविधानमाथि नै अस्त्र प्रहार गरेको बताएका छन्। संविधानको धाराले बहुमत सरकारलाई संसद् विघटन गर्ने अधिकार नदिएको कारण अदालतले यता उता नसोचि संविधानअनुसार फैसला गर्नुपर्ने उनले जानकारी दिए। यदि संविधानमाथिको यो प्रहारविरुद्ध आवाज नउठाए भोली गाली खानको लागि तयार हुनुपर्ने उनले बताए।