प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भइरहेको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेलमा आर्मीले उपाधिका लागि एपीएफलाई २ सय १२ रनको लक्ष्य दिएको छ। पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनायो।
आर्मीका लागि हरि चौहानले ५८ रनको अर्धशतकीय पारी खेले। राजेश पुलामीले २८ रन बनाए भने रोहित पौडेलले १३ रन, सुशन भारीले १३, अनिल मण्डलले ११, भिम सार्कीले ७, कप्तान विनोद भण्डारीले ७ रन बनाए। त्यस्तै, लोकेश बमले १५ रन, विक्रम सोबले ११ र शाहब आलमले २५ रन जोडे।
बलिङमा एपीएफका अविनाश बोहराले शानदार प्रदर्शन गरे। उनले १० ओभरमा २५ रन खचिँदै ४ विकेट लिए। त्यस्तै, किशोर महतोले २ विकेट हात पारे। कमल ऐरी, भुवन कार्की र शरद भेषवाकरले एक–एक विकेट लिए।