नेपाल एपिएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको फाइनल भिडन्तमा आर्मीले एपिएफलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको हो।
आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १७८ रनमा अलआउट भयो। आर्मीले अन्तिम चार बलमा एपिएफको तीन विकेट लिँदै खेल आफ्नो पक्षमा पर्यो। ४१.२ ओभरमा सहाब अलामबाट कमलसिंह ऐरी २ रनमा बोल्ड भए। लगत्तै अर्को बलमा अभिनास बोहरा एलबिडब्लूको धरापमा परे। अघिल्लो ओभरको अन्तिम बलमा अमरसिंह रउटेला १ रनमा आउट भएका थिए।
आर्मीका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे। ओपनिङ ब्याट्सम्यान आसिफले ७१ बलमा ८ चौका र १ छक्काको मदतमा ६१ रन जोडे। अर्का ओपनर सुवास खकुरेल १४ रनमा आउट हुँदा कप्तान शरद भेषवाकर डकआउट भएका थिए।
शंकर रानाले २१ रन जोड्दा सुमित महर्जनले १९ रन बटुले भने भुवन कार्की ९ रनमा आउट भए। सन्दीप जोरा २९ रनमा आउट भएपछि खेल आर्मीको पक्षमा गएको थियो। बलिङमा आर्मीका विक्रम शोव, जितेन्द्र मुखिया र सहाब अलामले ३–३ विकेट लिए। १ विकेट सुशन भारीको नाममा रह्यो।
पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनायो।
आर्मीका लागि हरि चौहानले ५८ रनको अर्धशतकीय पारी खेले। राजेश पुलामीले २८ रन बनाए भने रोहित पौडेलले १३ रन, सुशन भारीले १३, अनिल मण्डलले ११, भिम सार्कीले ७, कप्तान विनोद भण्डारीले ७ रन बनाए। त्यस्तै, लोकेश बमले १५ रन, विक्रम सोबले ११ र शाहब आलमले २५ रन जोडे।
बलिङमा एपीएफका अविनाश बोहराले शानदार प्रदर्शन गरे। उनले १० ओभरमा २५ रन खचिँदै ४ विकेट लिए। त्यस्तै, किशोर महतोले २ विकेट हात पारे। कमल ऐरी, भुवन कार्की र शरद भेषवाकरले एक–एक विकेट लिए।