नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन नभएको भए संसद् बैठक बोलाएर प्रधानमन्त्री केपी ओलीलाई कारबाही गरिसकिएको हुने बताएका छन्। धनगढीमा नेकपाको प्रचण्ड–नेपाल समूहको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
प्रचण्डले सर्वोच्च अदालतले संविधानमा रहेको व्यवस्था र लोकतान्त्रिक मान्यताअनुसार प्रतिनिधिसभा विघटनबारे फैसला गर्ने आफूमा विश्वास रहेको बताए। संसद् विघटन नभई केपी ओलीको सरकार चाहिँ विघटन भएको प्रचण्डले बताए। प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग नेकपामा र सडकमा पनि एकतिहाइ समर्थन नरहेको प्रचण्डको भनाइ थियो।
निर्वाचनका बेला घोषणापत्रमा लेखिएका बाचा सरकारले तीन वर्षसम्म पनि पूरा हुन नपाएका प्रचण्डले बताए। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्। उक्त विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए। जसमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ।