कार्यभार सम्हालेको १० दिनमै राष्ट्रपति जो बाइडेनसँग अमेरिकी नागरिक रुष्ट बनेका छन्। बाइडेन सरकारको पछिल्लो एउटा निर्णयले विवाद उत्पन्न हुनुका साथै अमेरिकी जनता बाइडेनप्रति आक्रोशित भएका हुन्।
समाचार एजेन्सीहरुका अनुसार बाइडेन सरकारले २००१ को सेप्टेम्बर १ मा पेन्टागन र वर्ल्ड ट्रेड सेन्टरमा गरिएको आतंकवादी आक्रमणका मुख्य योजनाकारसहित अल कायदा र अन्य आतंकवादी संगठन सम्बद्ध करिब ४० जना आतंकवादीले कोरोना भ्याक्सिन पहिले पाउनेगरी प्राथमिकतामा राख्ने निर्णय गरेपछि अमेरिकी नागरिक उनीसँग रुष्ट बनेका हुन्। यसअघि नै बाइडेन सरकारले अमेरिकाको जेलमा रहेका कैदीहरुलाई पहिले भ्याक्सिन दिने निर्णय गरेको खुलाशा भएको थियो।
बाइडेन सरकारको यस निर्णयको नागरिककले चर्को आलोचना गरेका छन्। भ्याक्सिन दिने भनिएका आतंकवादीहरुलाई अमेरिकाको ग्वान्तानामो बे जेलमा राखिएको छ। प्रशासनको दस्तावेजबाट यी आतंकवादीहरुलाई भ्याक्सिनको पहिलो प्राथमिकतामा राखिने र उनीहरुले भ्याक्सिन लगाउन चाहन्छन् वा चाहँदैनन् भन्ने कैदीहरुमै निर्भर गर्ने खुलासा भएपछि विवाद भएको छ। रिपोर्टमा पेन्टागनका एक अधिकारीले कैदीहरुलाई पहिलो प्राथमिकतामा भ्याक्सिन दिने गरी जारी गरिएको मेमोमा हस्ताक्षर गरिसकेका छन्।
विवाद भएपछि पेन्टागनले भने ग्वान्तानामो बे जेलमा रहेका कुनै पनि कैदी बन्दीहरुलाई भ्याक्सिन नदिइएको स्पष्टीकरण दिएको छ। फोर्ब्सका अनुसार पेन्टागनका प्रवक्ता जोन किर्बीले शनिबार दिउँसो ट्वीट गर्दै ग्वान्तानामो जेलका कुनै पनि कैदी बन्दीलाई भ्याक्सिन नदिइएको स्पष्ट पारेका हुन्। उनले तत्कालका लागि योजना रोकिएको भनेका छन्।
अर्कोतर्फ २ जनाको हत्या अभियोगमा ३३ वर्षको जेल सजाय काटिरहेका पूर्व अमेरिकी फुटबल रनिङ ब्याक ओजे सिम्पसनले ट्वीटरमार्फत आफूले भ्याक्सिनको पहिलो डोज लगाएको जानकारी दिएपछि सामाजिक संजालमा अमेरिकीहरुले आक्रोश पोखिरहेका छन्। सिम्पसनलाई आफ्नी श्रीमती र उनका एक साथीको हत्या अभियोगमा दोषी ठहर गरेर ३३ वर्षको जेल सजाय सुनाइएको थियो। इन्टरनेशनल बिजनेस टाइम्सका अनुसार उनले भ्याक्सिन लगाएको तस्वीर पोस्ट गरेसँगै अमेरिकीहरुले सामाजिक संजालमा आक्रोश पोखेका छन्।
अमेरिकामा कोरोनाका कारण कैयौं मुद्दाहरुको सुनुवाइ रोकिएको छ। अहिलेसम्म अमेरिकामा २ करोड ६० लाखलाई भ्याक्सिन दिइएको छ। सेप्टेम्बर ११ आक्रमणका बेला न्यूयोर्कका फयर कमिश्नर रहेका टम वनले सरकारको निर्णय मुर्खतापूर्ण भएको बताए। रिपब्लिकन सांसद एलिस स्टिफनिकले अमेरिकाका वृद्धवृद्धालाई भन्दा पहिले दोषी ठहर भएका आतंकवादीलाई भ्याक्सिन दिनु गलत भएको बताए। त्यस्तै, अन्य केहि सरकारी अधिकारकर्मीले यो निर्णयको आलोचना गरेका छन्।