कोरोना भाइरस संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण निधन भएको हो। यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३० जना पुगेको छ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६ सय ९५ नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५५ हजार ७ सय ९३ जना कोरोनामुक्त भएका छन्। यो कूल संक्रमितको ९४ प्रतिशत हो। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार २७ जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ७० हजार ८ सय ५४ जना छ भने दुई लाख ६६ हजार ४८ जना अर्थात ९८.२ प्रतिशत कोरोनामुक्त भएका छन्।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले खोप साक्षरतासम्बन्धी निर्देशिका जारी गरेको छ। आम नेपालीलाई खोपको बारेमा सचेत र सतर्क बनाउने उद्देश्यका साथ जारी यो निर्देशिका सबैले बुझ्ने गरी सरल नेपाली भाषामा छ। सो निर्देशिकामा खोप, खोप लगाउँदा, लगाइसकेपछि अपनाउनुपर्ने सावधानी, खोप लगाइसकेपछि देखिनसक्ने सम्भावित असर वा स्वास्थ्य समस्या र त्यसपछिको स्वास्थ्य मापदण्डलगायतका विषय समेटिएका छन्।