दुई तले पक्की घर। वरिपरी पर्खाल। प्लटिङ गरेर घर बनाउन तयार पारिएको ठाउँ। कम्पाउन्डभित्र एउटा बाटोले छुट्याइएको छ, जग्गालाई। बायाँतर्फ यहाँ एकतले संरचना बनाइएको छ।
त्यहाँबाट बेला–बेला एक चौकीदार निस्किन्छन्। बाटो दाँयातर्फ एउटा दुई तले पूरानो घर छ। त्यहाँबाट एक बृद्ध निस्किन्छन्। उनी बेला–बेला घरबाट निस्किन्छन्। चौकीदार बस्ने घरतिर हेर्छन्।
अनि पर कम्पाउन्डसम्म नजर लगाउँछन्। र, सुस्केरा हाल्छन्। आँखाका डिलसम्म टिप्लिक्क आँशु झार्छन्। फेरि घरभित्र पस्छन्। घरको पिँडीमा बसेर आफ्नो जमीन कसैले कब्जा गर्दै गरेको हेर्नु नै उनको बाध्यता बनेको छ अहिले।
गणेशलाल अवाले। वर्ष ७४। कान त्यति राम्रोसँग सुन्दैनन्। अरूले बोलेको सुन्नलाई उनले इयरफोन लगाएका छन्। सानो आवाजमा कुरा गर्दा कमिजको गोजीमा राखेको इयरफोन सेटको भोल्युम ठूलो पार्छन्। अनि आफ्नो कथा सुनाउन थाल्छन्।
गणेशलाल अहिले न्यायको गुहार लगाइरहेका छन्। उनको साढे ४ रोपनी जग्गा अरूले नै कब्जा गरेका छन्। काठमाडौं जिल्ला अदालतले पनि ‘भूमाफिया’को पक्षमा फैसला गरिदिएपछि विचलित भएका छन् अवाले।
काठमाडौं मीनभवनस्थित नेपाल कमर्स क्याम्पस अगाडि उनको घर छ। कुनै समय उनी त्यही क्याम्पसमा चौकीदारको जागिर गर्थे। घर छेउको जमीनमा उनकी श्रीमती चिरी सागसब्जी उब्जाउथिन्। बेच्थिन्। घर खर्चमा सहयोग पुगेको थियो।
बाउबाजेले छोडेको जेथामा उनको परिवार हासिखुशी बस्दै आएको थियो। ‘तर, दिन लाग्यो के रे!, बेइमानहरूले मेरो जग्गा खप्लक्कै पार्न खोज्दैछन्,’ गणेशलालले गम्भीर हुँदै भने।
२०५० सालमा डेरा बस्न आएका खोटाङका नारायणबहादुर कार्की नै गणेशलाललाई अहिले सडकमा पुर्याउने सबैभन्दा ठूलो कारक बने।
सुपरमार्केट बनाउने लालच लेखाएर जग्गा कब्जा
क्याम्पसको जागिरबाट सेवानिवृत्त भएपछि गणेशलाल अवाले तरकारी बाली लगाउथे, बेच्थे। दुई–चार पैसा आउथ्यो। यसरी नै केही समय चलेको थियो।
२०५० सालतिर अवालेकै घरमा पहिले भाडामा बस्न आए खोटाङका नारायणबहादुर कार्की। काठमाडौंले ‘शहर’को रुप लिँदैगर्दा गणेशलाल पूरानै दैनिकीमा थिए। आफ्नो जमीनमा कुटो–कोदालो गर्दै हुन्थ्यो उनी।
काठमाडौंको शहरिया ठाँटले उनलाई कति पनि छोएको थिएन। ‘जग्गा छँदैछ, यसैमा कमाउने, खाने भन्ने लाग्थ्यो,’ उनले भने। डेरामा बस्न आएका कार्कीको नजर गणेशलालको जग्गामा पर्यो। त्यति बैलेदेखि कार्की जग्गा ‘दलाली’को काम गर्थे।
कार्कीले सोझा गणेशलाललाई ‘सपना’ देखाए, अपार्टमेन्टको। ‘किन यस्तो घरमा बस्नुहुन्छ, अपार्टमेन्ट बनाउने मज्जाले बस्ने, बजार नै हुन्छ भनेर नारायणबहादुर कार्कीले फकाए, मैले धेरै पटक –मेरो ३ वटा घर छ, पर्दैन अपार्टमेन्ट भनेँ, तर, कार्कीले ढिपी गर्न छोडेनन्,’ गणेशलालले जग्गा कब्जा गर्नुअघिको घटना सम्झिँदै भने।
कार्कीले सुन्धाराको काठमाडौं मलमा लगेर प्रविरशमशेर जबरासँग भेटाए। जहाँ प्रविरशमशेर जबरा र मनोजकुमार मिश्र साझेदार रहेको प्रमा डेभलपर्स प्रालिको कार्यालय थियो।
‘प्रविरशमशेर र नारायणबहादुरले मेरो जग्गामा अपार्टमेन्ट बनाउने भनेर मलाई आश्वास्त पारे,’ उनले भने, ‘अपार्टमेन्ट बन्ने र त्यसको ३० प्रतिशत शेयर पाउने हो भने ठिकै छ भन्ने लाग्यो, तर जग्गा नामसारी गर्ने कुरा कतै भएको थिएन।’
गणेशलाललाई मिति यकिन थाहा छैन। तर, अहिले उनलाई लाग्छ, ‘मेरो जग्गा हत्याउने नारायणबहादुर कार्की र प्रविरशमशेर जबराको योजना त्यो दिनदेखि सफल हुन थाल्यो।’
अपार्टमेन्टको सम्झौता, कीर्ते गरेर जग्गा नामसरी
वि.सं. २०५० सालतिर शुरु भएको अपार्टमेन्ट बनाउने योजना साकार बनाउन नारायणबहादुर कार्कीले वि.सं. २०६१ साल चैत्र १८ गते गणेशलालसँग सम्झौता गरे। एक वर्षभित्र काम सक्ने गरी अपार्टमेन्ट निर्माणको सम्झौता गरिएको पत्रमा हस्ताक्षर गरिएको छ।
२०६१ साल चैत १९ गते गणेशलाल र नारायणबहादुरबीच एक वर्षभित्र अपार्टमेन्ट निर्माणका लागि पहिलोपटक सम्झौता भयो। तर, काम अघि बढेन। कार्कीले २०७० साल असोज १६ गते फेरि अर्को सम्झौता गराए। कार्कीले सम्झौता अनुसारको काम प्राविधिक कारणले सम्पन्न नभएको उल्लेख गरेर फेरि एक वर्ष समय थप गरेका छन्।
‘सम्झौता कारनामाको शर्त बमोजिम तोकिएको मितिभित्रै मेरो जिम्माको काम सम्पन्न गरिसक्नु पर्नेमा विभिन्न प्राविधिक कारण काम गर्न नसकिएको ठिक सत्य हो, अब म उक्त सम्झौता बमोजिमको काम आजको मितिदेखि काम थालि एक वर्षभित्रमा सम्पन्न गरिसक्नमा मेरो मञ्जुर छ, गरिसक्नेछु, गरिसकिनछु भने कानून बमोजिम गर्नु,’ कार्कीले सम्झौतापत्रमा कबुल गरेका छन्।
निर्माणको काम अघि बढाउने सम्झौता अवधि थप गरिए पनि जग्गा नामसारी पहिल्यै गरिसकिएको थियो। ‘नारायणबहादुरले अपार्टमेन्ट बनाउने सम्झौता गरौँ भनेर कागजपत्र ल्याएका थिए, मैले हस्ताक्षर गरिदिएँ, त्यो कागज जग्गा पास गर्ने कागज रहेछ,’ गणेशलालले भने।
कार्कीले गणेशलालसँग सम्झौता गरे पनि जग्गा आफ्नो नाममा नामसारी गरेनन्। उनले चलाखीका साथ आफ्ना साझेदार प्रविरशमशेर जबराको नाममा जग्गा पास गराइदिए। जग्गा २०६२ फागुन २ गते प्रविरशमशेर जबराको नाममा आएको देखिन्छ।
जग्गा पासको चक्रब्यूँह
प्रमा डेभलपर्स प्रालिका सञ्चालक प्रविरशमशेर जबरा र नारायणबहादुर कार्कीले देखावटी रूपमा अपार्टमेन्ट ‘निर्माण’मा लागे। तर, उनीहरूको ध्यान जसरी हुन्छ जग्गा कब्जा गर्नेतिर देखिन्छ।
यही योजना अनुरुप नक्कली जग्गाधनी खडा गरियो। प्रविरशमशेर र नारायणबहादुरले अहल्या श्रेष्ठको नाममा जग्गा पास गराए। कित्ता नम्बर ३४२ नम्बरको जग्गा कित्ताकाट गरी कायम भएको कित्ता नम्बर ३६७ को ८ आना जग्गा अहल्या श्रेष्ठलाई पास गरिदिइएको छ।
अहल्याले २०५७ असोज १० गते राजीनामा पास गर्दै प्रविरशमशेरका आफन्त तथा साझेदार माथवरसिंह बस्नेतलाई बिक्री गरेकी छिन्। त्यसपछि २०६२ साल फागुन २४ गते अपार्टमेन्ट ‘निर्माण’का मुख्य योजनाकार प्रविरशमशेरले जग्गा फिर्ता लिएका छन्।
गणेशलालको मुख्य कित्ता नम्बर ३४१ को सम्पूर्ण जग्गामध्येबाट पटक–पटक कित्ताकाट गरी कायम भएको ३४३, ३६७ र ३६८ कित्ता नम्बरको जग्गा प्रविरशमशेरले आफ्नो नाममा ल्याएका छन्।
आफू जोगिन कम्पनीको नाममा जग्गा राजीनामा
अपार्टमेन्ट बनाउने काम अघि नबढे पनि त्यसबीचमा प्रविरशमशेरलाई बेचैनी निकै बढेको थियो। जग्गा अरू व्यक्तिको नाममा पास गराए पनि उनी ढुक्कले बस्न सकेनन्। अन्त्यमा आफ्नै कम्पनीमा जग्गा आएपछि उनलाई एककिसिमको ‘सुकुन’ मिल्यो।
प्रविरशमशेरले करिव दुई वर्षपछि २०६४ साल असार ३१ गते ३ वटै कित्ता नम्बरको जग्गा प्रमा डेभलपर्सलाई नामसारी गरिदिए।
‘त्यति हुँदा पनि मैले पत्तो पाइनँ, २०७० सालसम्म पनि नारायणबहादुर र प्रविरशमशेरले अपार्टमेन्ट बनाउने कुरा गरिरहे,’ आँखा टिलपिल आँशु पुस्दै गणेशलालले भने, ‘जग्गा नामसारी गर्दा पनि नपच्ने देखेपछि बैङ्कबाट ऋण लिएर लिलाममा गएका रहेछन्।’
हेनुहाेस् अवाले र कार्कीबीचकाे सम्झाैता
जग्गा देखाएर सात करोड ऋण, लिलामीमा झेल
प्रमा डेभलपर्स कम्पनी खडा गरेर भूमाफियाको धन्दा चलाइरहेका प्रविरशमशेर जबराले जग्गा कब्जा गरेर पचाउने अन्तिम अस्त्र कुमारी बैङ्कलाई बनाए।
प्रविरशमशेरले आफ्नो कम्पनीको नाममा ल्याइसकेको गणेशलालको जग्गा धितो राखेर २०६४ असार ३१ गते कुमारी बैङ्क लिमिटेडबाट सात करोड रूपैयाँ ऋण लए।
‘तर, बैङ्कले पटक–पटक पत्राचार गर्दा पनि प्रविरशमशेरले ऋण तिरेनन्, त्यसपछि धितो राखेको जग्गा लिलामी प्रक्रियामा गएको देखिन्छ,’ कुमारी बैङ्कका एक उच्च अधिकृतले भने।
कुमारी बैङ्क पुतलीसडक शाखाले प्रविरशमशेरबाट ऋण असुल्न नसकेपछि धितो राखेको जग्गा लिलामीको सूचना प्रकाशित ग¥यो। २०७१ भदौ १५ गते प्रकाशित सूचनाका आधारमा लिलाम सकार गरी प्रविरशमशेरको प्रमा डेभलपर्सको नाम रहेको जग्गा २०७१ असोज २७ गते रामकृष्ण हुमागाईं सञ्चालक रहेको आरकेएच डेभलपर्स प्रालिको नाममा नामसारी गरिएको छ।
तमसुक देखाएर धनीपूर्जामा सहीछाप
२०५४ सालमा अहल्या श्रेष्ठको नाममा पास भएको जग्गा बाहेक बाँकी रहेको कित्ता नम्बर ३४३ को ३ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा प्रविरशमशेर जबराले नै हत्याए।
वि.सं. २०६२ चैत १९ गते अपार्टमेन्ट निर्माण ठेक्का सम्झौताको कागजपत्र देखाएर प्रविरशमशेरले जग्गा आफ्नो नाममा पास गर्न लगाए।
‘नारायणबहादुर कार्कीलाई सबै कुरो थाहा छ, उनैले सम्झौता गर्न कागजपत्र दिएर आएका थिए,’ गणेशलालले भने, ‘तर, सम्झौतापत्रमा जग्गा नामसारी गर्न बनाइएको तमसुक पनि रहेछ, त्यो कुरा मैले जग्गा लिलाम गर्न बैङ्कको टोली आएपछि मात्रै थाहा पाएँ।’
प्रविरशमशेरको गोरखधन्दा त्यही रोकिएन। प्रविरशमशेरले आफ्ना साझेदार मनोजकुमार मिश्रको नाममा २०६३ पुस २४ गते प्रमा डेभलपर्स प्रालि दर्ता गराए।
प्रविरशमशेर र मनोजकुमारले २०६४ असार ३१ गते कुमारी बैङ्क पुतलीसडक शाखाबाट ३ करोड ७२ लाख ३७ हजार रूपैयाँ ऋण निकालेका थिए।
ऋण दिएको ७ वर्षपछि बैङ्कले ७ करोड १५ लाख रूपैयाँ साँवाब्याज असुल्न लिलामीको सूचना प्रकाशित गरेको थियो। जग्गा लिलामीको सूचना प्रकाशित भएपछि अर्का जग्गा दलाल रामकृष्ण हुमागाईले जग्गा लिए। २०७१ कात्तिक २७ गते प्रविरशमशेरको नाममा रहेको जग्गा आफ्नो राजीनामा पास गराए।
त्यसपछि हुमागाईले आफ्नो कम्पनी आरकेएच डेभलपर्स प्रालि कम्पनीको नाममा जग्गा पास गरेर इन्टरनेशनल डेभलपमेन्ट बैङ्क लगनखेलबाट सोही जग्गा धितो राखेर ८ करोड ९० लाख रूपैयाँ ऋण लिए।
‘मुद्दा सरसर्ती हेर्दा भूमाफियाको जालो गम्भीर ढङ्गले झाँगिएको देखिन्छ, काठमाडौंमा यस्ता धेरै भूमिसम्बन्धी मुद्दा छन्, ती मुद्दा प्रायः ललाइफकाई र कीर्ते गरी जग्गा हत्याइएकै बढी छन्,’ भूमाफियाविरुद्धका मुद्दा लड्दै आएका एक कानून व्यवसायीले भने।