कोरोना भाइरस संक्रमण कारण लामो समय ठप्प रहेका खेलकूद गतिविधि पोखरामा सुचारु हुने तयारीमा छन्।
वर्षभरिनै खेलकूद गतिविधि भइरहने यहाँ कोरोना महामारीपछि गत चैत पहिलो सातादेखि खेल गतिविधि रोकिएकामा पछिल्लो समय फुटबल, भलिबललगायत खेलका प्रतियोगिताका तयारी गरिएको छ।
गत मंसिर पहिलो सातादेखि सरकारले खेलकूद प्रशिक्षणलगायतका गतिवधि सञ्चालन गर्ने निर्णय गरेपछि खेल प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। कास्की जिल्ला भलिबल संघको आयोजनामा पोखरामा फागुन पहिलो साता ‘मुख्यमन्त्री कप महिला तथा पुरुष अन्तर जिल्ला’ भलिबल प्रतियोगिता हुने भएको छ।
भलिबल खेलका माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित आगामी फागुन ४ देखि ८ गतेसम्म पोखरा रंगशालाभित्रको भलिबल कोर्टमा प्रतियोगिता गरिने संघका जिल्ला अध्यक्ष भीम पराजुलीले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको तयारीस्वरुप अहिले जिल्लास्तरमा खेलाडी छनोट प्रक्रिया सञ्चालन भइरहेको छ।
उनले भने, ‘गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्ष्य गरी प्रतिभावान भलिबल खेलाडी उत्पादन गर्ने तथा प्रदेशमा खेलकूद विकासको उद्देश्यले पहिलोपटक मुख्यमन्त्री कप गर्न लागेका हौँ। खेलाडी छनोटलगायत तयारीका काम भइरहेको छ।’
प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान दुई लाख रुपैयाँ र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। यसैगरी तृतीय टोलीले ५० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले नगद पाँच/पाँच हजार रुपैयाँ तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’ले समेत पाँच हजार रुपैयाँका दरले पुरस्कार पाउने छन्।
गण्डकी प्रदेशको कास्की, स्याङ्जा, गोरखा, तनहुँ, मनाङ, मुस्ताङ, नवलपुर, म्याग्दी, बागलुङ, लमजुङ र पर्वत गरी ११ वटै जिल्लाको प्रतियोगितामा सहभागिता रहने आयोजकले जनाएको छ।