नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरूद्ध अदालतमा अपहेलनाको मुद्दा दर्ता भएको छ। अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरेको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्। विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको बताइएको छ।
प्रचण्डले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन नभएको भए संसद् बैठक बोलाएर प्रधानमन्त्री केपी ओलीलाई कारबाही गरिसकिएको हुने बताएका थिए। प्रचण्डले भनेका थिए, ‘जरूरी पर्यो भने हामी संसदको बैठक बस्छौं र यस्ता अपराधीहरूलाई कारबाही गर्छौं। संविधानले हामीलाई संसदको बैठक बस्ने अधिकार दिएको छ। केपी ओलीलाई विघटनको अधिकार दिएको छैन।’
प्रचण्डले सर्वोच्च अदालतले संविधानमा रहेको व्यवस्था र लोकतान्त्रिक मान्यताअनुसार प्रतिनिधिसभा विघटनबारे फैसला गर्ने आफूमा विश्वास रहेको बताएका थिए। गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। संसद् विघटनविरूद्धको मुद्दामा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भैरहेको छ।
सर्वोच्चले यसअघि नै प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अदालतको अपहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन आदेश दिइसकेको छ।