भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण १ सय १८ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५४ हजार ३ सय ९२ जना पुगेको छ।
यहाँ कोरोना भाइरस संक्रमितको संख्या आइतबारसम्म एक करोड सात लाख ५७ हजारभन्दा बढी पुगेको छ विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ४ सय २७ नयाँ सक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड सात लाख ५७ हजार ६ सय १० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ।
मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ३४ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा एक लाख ६८ हजार २ सय ३५ जना सक्रिय संक्रमित रहेका छन्। भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ।
सो दिनदेखि हालसम्म ३७ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन्। कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु रहेका जनाइएको छ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार १ सय ४० जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र ४ जनाको मृत्यु भएको छ। भारतमा कोभिड–१९ शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ८ सय ३५ को मृत्यु भइसकेको छ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १९ करोड ९२ लाख ६ सय ३५ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। आइतबार एकै दिनमा मात्र पाँच लाख ४ हजार भन्दा बढी व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको जनाइएको छ।