नेपाली राष्ट्रिय क्रिकेट टोलीले फेब्रुअरी दोस्रो साता कतारसँग खेल्ने भनेको तीन टि २० आई सिरिज नहुने भएको छ। क्यानले बन्द प्रशिक्षण शुरु गरेको दिननै सिरिज नहुने जानकारी आएको हो।
क्यानले औपचारिक रुपमा भने कुनै जानकारी दिएको छैन। क्यान उच्च स्रोतका अनुसार कतार सरकारले नियमको कारण खेल हुन नसक्ने कतार क्रिकेट एसोसिएसनले क्यानलाई आइतबार मेलमार्फत जानकारी गराएको छ।
कोरोनाको कारण क्वारेन्टाइनमा नबस्दा कतार सरकारले स्वीकृती नदिएको बुझिएको छ। खेलको लागि क्यानले प्रयास गरिरहेको स्रोतले जानकारी दिएको छ। नेपालले ११ महिनापछि अन्र्तराष्ट्रिय खेल खेल्न लागेको थियो।
माघ १३ मा बसेको क्यानको बोर्ड बैठकले कतार क्रिकेट एसोसिएसनले कतार स्पोर्ट्स डे को अवसरमा निमन्त्रणा गरेको भन्दै तीन टि२० आई सिरिज खेल्न लागेको जनाएको थियो। क्यानका अनुसार नेपालले फेब्रुअरी ९ मा पहिलो, फेब्रुअरी १० दोस्रो र फेब्रुअरी १२ मा तेस्रो खेल खेल्ने कार्यतालिका रहेको थियो। क्यानले कतारसँगको तीन टि२० सिरिजको लागि १८ सदस्य टोली समेत घोषणा गरेको थियो।
कतार भ्रमण टोलीको लागि घोषणा टोलीमा नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर, वसन्त रेग्मी, आरिफ शेख, सुसन भारी, ललितनारायण राजवंशी लगायतका पहिलो रोजाईका खेलाडी रहेका थिएनन्। बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीलाई सोमबारदेखि प्रशिक्षण सुरु गर्ने कार्यक्रम थियो।