भूमाफियाको चङ्गुलमा परेर घरखेत गुमाउने अवस्थामा पुगेका काठमाडौं मीनभवनका गणेशलाल अवालेको जग्गा पटक–पटक कीर्ते गरी भूमाफियाले कब्जा गरेको खुलेको छ। अपार्टमेन्ट निर्माणको बहानामा अबालेको जग्गा कब्जा गर्ने भूमाफियाहरूले अनेक बहानामा पटक–पटक सम्झौतामा हस्ताक्षर गर्न लगाएको खुलेको हो।
भूमाफियाका लागि काम गर्ने खोटाङ घर भइ हाल ललितपुर सानेपा–२ बस्ने नारायणबहादुर कार्कीले अपार्टमेन्ट निर्माणको बहानामा पहिलोपटक सम्झौता गरेका थिए।
वि.सं. २०६१ चैत १९ गते भएको सम्झौतामा एपार्टमेन्ट हाउस निर्माण गरी जग्गाधनी अवालेले नाफाको ३० प्रतिशत प्राप्त गर्ने, निर्माण कम्पनीले ६० प्रतिशत प्राप्त गर्ने र बाँकी १० प्रतिशत भइपरी आउने खर्च तथा भवन मर्मत–सम्भार तथा भवन सुविधा थप्न प्रयोग गरिने उल्लेख छ।
‘जग्गाधनी गणेशलाल अवालेको नाममा मालपोत कार्यालय डिल्लीबजारमा दर्ता रहेको काठमाडौं महानगर–१० सिट नम्बर ११८६–०४ को कित्ता नम्बर ३४३ को ३ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा र सो जग्गामा बनेको घर हाल नेपाल बैङ्क लिमिटेडमा दृष्टिबन्धकी रोक्का रहेको र उक्त घरजग्गाको दृष्टिबन्धकी फुकुवा गर्ने र हाल फिल्डमा रहेको घर तर्फबाट १ रोपनी जग्गा अवालेलाई छुट्याइ बाँकी २ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा आवासीय भवन निर्माण गर्न प्रथम पक्ष (गणेशलाल अवाले) ले गरेको प्रस्तावमा दोस्रो पक्ष (नारायणबहादुर कार्की)को सहमत छ,’ सम्झौताको पहिलो बुँदामा भनिएको छ।
सम्झौतामा अबालेको २ रोपनी ८ आना ३ पैसा १ दाम जग्गामा १० तल्लाको भवन निर्माण गर्न लाग्ने सम्पूर्ण खर्च कार्कीले व्यहोर्ने सहमति भएको छ। दुवै पक्षको सहमति अनुसार जग्गाको मूल्य प्रति आना ४ लाख ७५ हजार रूपैयाँ कायम गरिएको छ। र, भवन निर्माणपछि फ्ल्याट बिक्री गर्दा खर्च कटाएर प्राप्त हुने नाफा रकमबाट अवालेलाई उल्लेखित दरले उक्त जग्गाको एकमुष्ट हुने रकम क्रमशः भुक्तानी गर्दै जाने सम्झौता पनि भएको छ।
सम्झौता पत्रमा पहिलो पक्ष भनेर जग्गाधनी गणेशलाल अवाले र दोस्रो पक्ष भनेर नारायणबहादुर कार्कीले हस्ताक्षर गरेका छन्। अवालेका तर्फबाट साक्षी उनका छोरा प्रकाश छन्।
कार्कीका तर्फका साक्षी मनोजकुमार मिश्र छन्। तर, नाम लेख्दा आफ्नो थरमा मिश्रले केरमेट गरेका छन्। भूमाफिया धन्दा चलाउने प्रविरशमशेर जबरा र मिश्र प्रमा डेभलपर्सका सञ्चालक हुन्।
बैङ्कको रकमान्तरका विषयमा र नाफाका सम्बन्धमा सम्झौताको ५ नम्बर बुँदामा उल्लेख गरिएको छ। ‘हाल नेपाल बैङ्क लिमिटेडमा दृष्टिबन्धकी रहेको उक्त जग्गा दोस्रो पक्ष (कार्की)ले चाहेको अन्य बैङ्क तथा वित्तीय संस्थामा सार्न प्रथम पक्ष (अवाले) ले मञ्जुरी दिनु पर्नेछ। अन्यत्र बैङ्क तथा वित्तीय संस्थामा धितो सार्दाको समयमा दोस्रो पक्षले प्रथम पक्षलाई ५० लाख रूपैयाँ दिनु पर्नेछ। र, यो रकम फ्ल्याट बिक्री गरेर जग्गाबापत तिर्नुपर्ने एकमुष्ट रकममा घटाइने छ,’ सम्झौतामा उल्लेख छ।
सम्झौतापत्रमा ९ बुँदा कम्प्युटर टाइप गरी प्रिन्ट गरिरहेको छ। तर, अन्तिम बुँदा हस्तलिखित छ। जुन बुँदामा ‘यो कार्य आगामी २ वर्षभित्र सम्पन्न गरिने छ’ भनिएको छ।
द्विपक्षीय सम्झौता अनुसार २०६३ सात चैतमा भवन निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर, जग्गा कब्जाको लक्ष्य राखेर थालिएको योजना १६ वर्ष पुग्दा पनि पूरा भएन। बरू अवालेको सम्पूर्ण जग्गा कब्जा गर्न कार्यमा भूमाफियाहरूको समूह नै सफल भयो।
कीर्तेको अर्को प्रमाण यो पनि!
सिंहदरवार र नारायणहिटी राजदरबार नजिकै बसेर सत्ता र शक्तिको आडमा काठमाडौंमा ठगीधन्दा चलाइरहेका भूमाफिया प्रविरशमशेर जबराले २०६२ सालमै गणेशलाल अवालेको जग्गा हत्याइसकेका थिए।
बैङ्कमा जग्गा धितो राख्ने र लिलामी गर्ने उद्यम चलि नै रहेको थियो। त्यही क्रममा २०६९ भदौ १७ गते गणेशलालसँग अर्को सम्झौता भयो। लिलामी र कम्पनीको शेयर हस्तान्तरण गर्दै प्रमा डेभलपर्स प्रालि अन्नपूर्ण पोस्टका मालिक रामेश्वर थापाको नाममा आइपुग्यो।
प्रविरशमशेर जबरा र मनोजकुमार मिश्रको कम्पनी प्रमा डेभलपर्स प्रालि पनि अन्नपूर्ण पोस्ट पोस्टका अध्यक्ष क्याप्टेन थापा र उनका साझेदार सुरेशराज घिमिरेको नाममा आइपुग्यो।
२०६९ सालमा भएको सम्झौतामा अवालेसँग थापा र घिमिरेको घर अगाडिको जग्गा पनि बाटोका लागि भनेर फुत्काए। बाटोका लागि गरिएको सम्झौतामा पनि कीर्ते गरिएको प्रष्ट हुन्छ।
‘भूमाफियाको जालोमा पर्दै जाँदा अवालेले जग्गा गुमाए, २०६९ सम्ममा भएको जग्गाबाट बाटोका लागि भनेर अरू जग्गा पनि छिनेको देखिन्छ, कीर्ते नै कीर्तेको फेहरिस्त छ, गम्भीर छानवीन र अध्ययन भएमा मात्रै उनले न्याय पाउँछन्,’ एक वरिष्ठ अधिवक्ताले भने।
थापा र घिमिरे सञ्चालक रहेको प्रमा डेभलपर्सले नारायणबहादुर कार्कीसँग भएको सम्झौता बमोजिम अपार्टमेन्ट निर्माणका लागि १२ फुटे बाटोको माग गर्छन्। अवाले पनि दिन राजी भएर सम्झौता गर्छन्।
‘३ रोपनी ८ आना ३ पैसा १ दाम जग्गामध्येबाट १ रोपनी ८ आना जग्गा पश्चिमतर्फ रहेको सडकबाट जोडिने गरी पूर्वतर्फको यसै जग्गामा आवतजावत गर्न तपाईहरू सुरेशराज घिमिरे तथा रामेश्वर थापा संस्थापक रहेको प्रमा डेभलपर्स प्रालिले बाटो माग गरेको हुनाले मेरो जग्गाबाट १२ फुटे बाटो लिन मञ्जुर छु,’ सम्झौतामा भनिएको छ।
८ वर्षसम्म झुटको खेती!
प्रमा डेभलपर्स प्रालिको सम्पूर्ण शेयर थापा र घिमिरेको नाम आयो। जग्गा पनि उनीहरूकै कम्पनीको नाममा आयो। तर, उनीहरूलाई यतिले पनि पुगेन।
अवालेको जग्गाबाट बाटो बनाउन पनि अर्को सम्झौतामार्फत जग्गा लिइएको छ। ‘सम्झौता, मिसिल र सबै कागजात हेर्दा र २०६१ सालमा कीर्ते गरी पास गरिएको जग्गा २०६९ सालसम्म अपार्टपेन्ट बनाउने भनेर विश्वास दिलाउन गरिएको प्रयासले यो जग्गा भूमाफियाहरूले कीर्ते कागजात र दुषित लिखतमार्फत कब्जा गरिएको प्रष्ट हुन्छ,’ नाम उल्लेख गर्न नचाहने एक वरिष्ठ अधिवक्ताले भने।
जब अवालेले जग्गा गुमेको थाहा पाए...
गणेशलाल अवालेलाई लागेको थियो, ‘ढिलो भएर पनि अपार्टमेन्ट बन्यो भने राम्रै हुन्छ, दुवै छोराले जागिर पाउछन्, राम्रो घरमा बस्न पाइन्छ।’
तर, २०७१ चैत १० गते मात्रै अवालेलाई थाहा भयो –जग्गा अर्कैको नाममा गइसकेको रहेछ। प्रविरशमशेर जबरा र मनोजकुमार मिश्रले कुमारी बैङ्कबाट निकालेको ऋण नतिरेपछि जग्गा लिलाम भयो।
मिश्र र जबरापछि २०७१ कात्तिक २७ गते रामकृष्ण हुमागाईले ७ करो १५ लाख रूपैयाँ लिलाम सकारेपछि उक्त जग्गा हुमागाईको आरकेएच डेभलपर्स प्रालिमा आयो।
हुमागाईले इन्टरनेशनल डेभलपमेन्ट बैङ्क लगनखेल शाखाबाट सोही जग्गा धितो राखेर ८ करोड ९० लाख रूपैयाँ ऋण लिए। हुमागाईले आफ्नो कम्पनीको शेयर पोखराका कालु गुरुङलाई दिए। हुमागाईले जग्गाको कीर्ते गरिएको थाहा पाएपछि गुरुङबाट मोटो रकम लिएर जग्गा हस्तान्तरण गरेका थिए।
हुमागाईसँग साझेदारीमा जग्गा भोगचलन गर्ने सम्झौता अनुसार आफूले शेयर लिएको बयान गुरुङले काठमाडौं जिल्ला अदालतमा लिएका छन्।
रोडसो रियल स्टेट प्रालिका सञ्चालक गुरुङलाई जग्गा जिम्मा लगाउँदा एक सय रूपैयाँका दरले २ लाख कित्ता शेयरमध्ये ४० लाख रूपैयाँ हुमागाईले लिए।
शेयर खरिद गरेपछि कम्पनी पनि गुरुङकै नाममा आयो। र, २०७२ चैत १० गते आफू कम्पनीको शेयरधनी नरहेको उल्लेख गर्दै हुमागाईले गुरुङ सञ्चालक रहेको आरकेएच डेभलपर्स प्रालिलाई राजीनामा लेखिएका हुन्।
‘बेलायतका लागि पूर्वराजदूत प्रबलशमशेरका छोरा प्रविरशमशेर जबरा र मनोजकुमार मिश्रपछि जग्गाधनी बनेर जति पनि आए सबै कीर्ते गर्दै जग्गा पास गर्दै आएका रहेछन्, मलाई जानकारी नदिइ जग्गा धितो राख्दै ऋण लिँदै गरेका तथ्यले पनि मैले न्याय पाउछु भन्ने आशा छ,’ अवालेले भने।