भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमित भएकाहरुको संख्या अन्त्यन्त न्युन भएको छ। सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम संक्रमित भएका छन्।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६ सय ३५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ संक्रमितहरुको संख्या सन्तोषजनक तरिकाले न्युन हुँदै गएको जनाएको छ।
यसअघि गत बर्षको सेप्टेम्बर १० मा एकैदिन सबैभन्दा धेरै ९५ हजार ७ सय ३५ जना कोरोना भाइरसबाट संक्रमित भेटिएका थिए।भारतमा अहिलेसम्म एक करोड सात लाख ६७ हजार २ सय ६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने एक लाख ५४ हजार ५ सय २२ जनाको मृत्यु भएको छ।
त्यसैगरी एक लाख ६४ हजार २ सय ७८ जना अहिले पनि संक्रमित अवस्थामै रहेको सरकारी अधिकारीहरुले जनाएका छन्।विश्वभरी धेरै संक्रमित भएका देशहरुको सूचीमा भारत दोस्रो क्रममा रहेको छ। भारतमा भन्दा धेरै अमेरिकामा संक्रमित रहेका छन्। अमेरिकामा अहिलेसम्म दुई करोड ६९ लाख ११ हजार ३ सय ७५ जना संक्रमित भएका छन्।
त्यस बाहेक तेस्रो धेरै ब्राजिलमा, चौथो धेरै रुसमा र पाचौँ धेरै बेलायतमा सङ्क्रमित रहेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनका अनुसार अमेरिकामा चार लाख ५४ हजार, ब्राजिलमा दुई लाख २५ हजार, मेक्सिकोमा एक लाख ५९ हजार, भारतमा एक लाख ५४ हजार, बेलायतमा एक लाख ६ हजारको कोरोना संक्रमणबाट मानिसको मृत्यु भइसकेको छ।
पछिल्लो विवरण अनुसार विश्वभर १० करोड ३९ लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र त्यसमध्ये २२ लाख ४८ हजार व्यक्तिको ज्यान गइसकेको छ।