ग्रानडाविरुद्ध स्मरणीय पुनरागमन जीत निकाल्दै बार्सिलोना केपा डेल रे को सेमिपाmइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले ग्रानडालाई अतिरिक्त समयमा ५–३ गोलले हराएको हो।
रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा ग्रानाडाले शुरुवाती अग्रता बनाएको थियो। खेलको ३३ औं मिनेटमा केनेडीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै, खेलको ४७ औं मिनेटमा रोबर्टो सोल्डाडोले गोल गर्दा ग्रानडालाई २–० को अग्रता दिलाए।
२ गोलले पछि परेको बार्सिलोना खेलमा केहि निराश बनेको थियो। तर, उच्च मनोबलका साथ खेल खेलको बार्सिलोना अन्तिम समयतिर उत्कृष्ट पुनरागमन गर्न सफल भयो। खेलको ८८ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए।
त्यस्तै, खेलको इन्जुरी समयमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलोनालाई बराबरीको स्थितिमा ल्याए। निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
खेलको १०० औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए। खेलको १०३ औं मिनेटमा घरेलु टोलीका फेडे भीकोले गोल गर्दा खेल पुनः बरारीको स्थितिमा आयो।
तर, खेलको १०८ औं मिनेटमा फ्रान्की डी जोङले गोल गर्दै बार्सिलोनालाई ४–३ को अग्रता दिलाए।त्यसपछि खेलको ११३ औं मिनेटमा अल्बाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–३ को शानदार जीत दिलाए।