नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समुहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘कसैको मृत्युमा जीवन खोज्ने प्रचण्ड प्रवृति र कुण्ठामा बाँचेको माधव प्रवृति’ को गठजोडका कारण मुलुकमा अहिलेको अवस्था सिर्जना भएको आरोप लगाएका छन्।
शुक्रबार नेकपाको ओली पक्षले नारायणहिटी दरबारअगाडि आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन्। उपप्रधानमन्त्री पोखरेलले अराजकता निम्ताउने प्रयास सफल पार्न नदिइने बताए।
नेता पोखरलेले जनताभन्दा ठूला न्यायाधीश अरु कोही नभएको बताए। देशमा राजनीतिक स्थायित्व चाहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको पोखरेलले बताए।
प्रचण्ड–माधव पक्षले बिहीबार आयोजना गरेको नेपाल बन्दमा जलेको ट्याक्सीको क्षतिपूर्ति सरकारले व्यहोर्ने उपप्रधानमन्त्री पोखरेलले बताए।