प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि पार्ने नसोच्न आग्रह गरेका छन्। काठमाडौंको नारायणहिटी गेट अगाडि भएको आमसभालाई सम्बोधन गर्दै ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले खोस्न नसक्ने बताएका हुन्।
ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए। आधा दशकभन्दा बढी गणतन्त्रका लागि लडेको ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भन्ने हल्ला सुनेको उनले बताए।
आजको जनसभा त कास्टिङ मात्र भएको भन्दै प्रधानमन्त्री ओलीले काठमाडौंका सबै सडकमा स्क्रिनहरू राखेर सभा गर्नुपर्ने दिन आउन सक्ने बताएका छन्।
ओलीले आफ्नो समूहले काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको बताए। नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताए।
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिए। बिहीबार नेपाल बन्द गरेर प्रचण्ड–नेपाल समूहले किसानहरूका उत्पादन सडकमा पोखेर र गरिवको नोक्सान गर्दै क्रान्तिकारी देखाउन खोजेको प्रधानमन्त्री ओलीले आरोप लगाए।
अब नरभक्षी आन्दोलन गर्न नदिने र नेपाल अशान्ति र हिंसामा जान नसक्ने ओलीको भनाई छ। उनले आजबाट कुन पार्टी मुल र सक्कली भन्ने फैसला भएको बताएका छन्।