प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा मुलुकभर आज सांकेतिक विरोध प्रदर्शन गरिएको छ। भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका हुन्।
सोही क्रममा विरोधस्वरुप प्ले कार्ड, कालोपट्टी र कालो मास्क लगाएका समूहद्वारा काठमाडौंको टुँडिखेललाई केही समय मानवसांलाे बनाई घेराउ गरिएको थियो।
प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुर्नबहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएको थियो।
उक्त विरोध प्रदर्शन नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियनलगायतका संघसंस्थाको अगुवाइमा भएको हो। विरोध प्रदर्शन गर्नुअघि ती संगठनले कार्यक्रमलाई सहयोग, समर्थन र ऐक्यबद्धताका लागि सबै तह र तप्कासँग अपिल गरेका थिए।