कोभिड–१९ को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको संक्रमणका कारण मृत्यु भएको हो।
योसहित २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३३ जना पुगेको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८ सय ३२ नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५६ हजार २ सय ४७ जना कोरोनामुक्त भएका छन्।
यो कूल संक्रमितको ९४ प्रतिशत हो। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ३५ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ७१ हजार ८०६ जना छन् भने दुई लाख ६६ हजार ८ सय १२ अर्थात् ९८ दशमलव पाँच प्रतिशत कोरोनाबाट मुक्त भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जनाएका छन्।