नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्तलाई मात्र मन पराउने बताएका छन्। सोमबार काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको पहिलो राष्ट्रिय परिषद् भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओली शिक्षक तथा बुद्धिजीविहरूसँग तर्सिने बताए।
प्रधानमन्त्री ओलीले शिक्षक संगठन एकीकृत गर्न नदिएको आरोप लगाउँदै उनले ओलीले हाल केन्द्रीय समितिमा म्यादी प्रहरीजसरी शिक्षक भर्ती गरिरहेको पनि जानकारी दिए।
‘शिक्षकहरूलाई विचार र राजनीतिबाट अलग राख्नुपर्ने हुन्छ, शिक्षकहरूको औपचारिक संगठन बनाउन हुँदैन,’ उनले भने।
‘शिक्षकहरूलाई पार्टीको कुनै पदमा राख्न हुँदैन भन्ने सोचका प्रवक्ता केपी ओली नै हो,’ प्रचण्डले थपे, ‘तर त्यो ठगीवाला कुरा थियो। उहाँको त्यो साँचै कुरा थियो भने अहिले केन्द्रीय समितिमा म्यादी प्रहरीजसरी शिक्षक भर्ती गरिरहेका छन्।’