कोरोना प्रकोपका कारण विश्वको समग्र अर्थतन्त्र अस्तव्यस्त भएको छ। नेपाली कला क्षेत्र कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भयो। विदेशमा हुने कार्यक्रम सबै स्थगन भए। यस्तो परिस्थितिमा नेपाली कलाकारहरूको अवस्था र आगामी रणनीतिका सन्दर्भमा हास्य कलाकार जीतु नेपाल मुन्द्रेसँग गरिएको संवादः
कोरोना प्रकोपले सबै क्षेत्र प्रताडित र प्रभावित हुँदै गर्दा नेपाली कला क्षेत्रमा कस्तो असर पर्यो?
–सबैलाई आफ्नै क्षेत्रमा बढी असर परेको जस्तो लाग्छ। यद्यपि, कला क्षेत्रका लागि हलमा पनि भिडभाड चाहिने, स्टेज कार्यक्रममा पनि भिडभाड चाहिने र कोरोनाका बेला भिडभाड गर्न नहुने भएकाले यो क्षेत्र बढी प्रभावित भयो। रंगमञ्ज र विशेषगरी हामी स्टेज पर्फमरलाई कोरोना महामारीले धेरै नै असर गर्यो। विदेशमा रहेका नेपालीहरुले कलाकारहरुलाई धेरै माया गर्नुहुन्छ, त्यहाँ हुने कार्यक्रमहरु सबै ठप्प भए, मेला महोत्सवहरु रोकिए, चलचित्र बनाउनेहरु लगायत हल व्यवसायी सबै नै प्रभावित बने। जसोतसो हामी विभिन्न माध्यमबाट अगाडि बढिरहेका छौं।
फिल्म निर्माण, स्टेज कार्यक्रम रोकिएपछि दैनिकी कसरी बितिरहेको छ?
–५–६ महिना त घरमै बसियो। त्यसबेला जुमबाट रमाइलो गर्ने काम गरियो। अन्तर्वाताहरु भयो। दर्शकहरुसँग नजिक नै रहने प्रयास पनि गर्यौं। अवस्था सामान्यतिर लम्किन लागेपछि मैले ‘मुन्द्रेको कमेडी क्लब’ शुरु गरेँ। त्यसैले ठूलो प्रभाव भएन। नियमित काम सुचारु भयो।
विशिष्ट शैलीको कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’का लागि अलग स्टेज, कलाकारको टिम, अडियन्स पनि चाहिन्छ, त्यसको व्यवस्थापन कसरी गर्नुभएको छ?
–शुरुमा हामीले बिना अडियन्स नै कार्यक्रम चलायौं। हाम्रा क्र्यू मेम्बरहरुमात्र हुनुहुन्थ्यो। वातावरण सहज हुँदै गएपछि हलहरु पनि खुले। राजनीतिक माहोल अर्कैतिर मोडिएर हुलहुज्जत हुन थालेपछि हामीले पनि केही अडियन्स राखेर कार्यक्रम चलाइरहेका छौं।
कार्यक्रमको खर्चको सवाल पनि महत्त्वपूर्ण छ। टिमका कलाकार तथा अरु सदस्यलाई दिने पारिश्रमिक कार्यक्रमबाट उठाउन पनि मुश्किल नै छ। त्यसको व्यवस्थापन चाहिँ कसरी गर्नु भएको छ?
–कार्यक्रम निर्माण हुन्छ। प्रदर्शन गरिन्छ। त्यसका लागि भएको दुःख र पीडा कसैलाई थाहा हुन्न। विशेषगरी, आर्थिक अवस्थाका कारण धेरै क्षेत्रमा पीडा छ। त्यस बीचमा पनि यो कार्यक्रम ८ वटा क्यामेरा राखेर अनलाइन इडिटिङ सबै गरेर तयार गर्न धेरै गाह्रो छ। करिश्मा मानन्धर दिदीलगायत हाम्रो टिमबाट धेरै ठूलो सहयोग छ। एकदिनमा ३ भाग सुटिङ गरेर धेरथोर मिलाउन सहज भएको छ। मलाई कहिलेकाही के कुरा खड्किन्छ भने मैले कार्यक्रम गर्दै–गर्दा डेढ महिनापछि आउने कार्यक्रम एक महिना अगाडि रेकर्ड गर्छु। २ दिन गर्दा ६ भाग। हाम्रो प्रोफेशनल स्टुडियो छैन। हाम्रो मेन्टर राजुजीको च्यासलको हललाई हामीले स्टुडियोको रुपमा प्रयोग गरिरहेका छौं। त्यहाँ हाम्रो सेट स्थायी हुँदैन। हाम्रो सुटिङ सकिएपछि उहाँले त्यो सेट हटाएर अर्कै काम गर्नुहुन्छ। फेरि हाम्रो सुटिङ गर्ने बेलामा सेट तयार गर्नुपर्छ। त्यसकारण सेट लगाउनुपर्यो, क्यामेरा राख्नुपर्यो, लाइटिङ गर्नुपर्यो। यो बडो झन्झट हुन्छ। त्यसैले एकैपटकमा गरौं न त भन्ने हुन्छ। चलचित्रमा प्रोड्युसर हुन्छन्, टेलिभिजनमा त्यस्तो छैन। हुन त लगानी गर्छौं भन्ने त हुनुहुन्छ। तर, त्यसको रिटर्न दिन सक्नुपर्छ। त्यो दिन सक्ने अवस्था छैन। र, पनि गर्नैपर्छ।
कोरोना प्रकोपको प्रभाव क्रमशः कम हुँदै गएको जस्तो देखिन्छ। गैरआवासीय नेपाली र विदेशमा कार्यक्रम गर्नेतर्फ विषयमा कुनै तयारी भएको छ?
–त्यस्तो त छैन। तर, पछिल्लो समय मुन्द्रेको कमेडी क्लबको सुटिङ हेर्न धेरैले इच्छा देखाउनु भएको छ। कतिले टिकट काट्छु के–के हुँदो रहेछ, हेर्न मन लागेको छ भन्नुहुन्छ। विदेशमा रहनु भएका साथीहरुले पनि कार्यक्रममा सहभागी हुन चासो देखाउनु हुन्छ। अब अवस्था सहज भएमा जुनै पनि देशमा त्यहाँका एनआरएनका अध्यक्ष, कलाकार साथीहरु, राजदूतहरु लगायतका विशिष्ट व्यक्तिहरुसँगै दर्शकहरुलाई राखेर रमाइलो गर्दै मुन्द्रेको कमेडी क्लबको सुटिङ नै गर्ने सोचमा छु। त्यससँगै टेलिभिजन कार्यक्रम पनि बनाउने इच्छा छ। त्यसका लागि सबै टिम नै लानुपर्छ। त्यसमाथि माहोल यस्तो छ। अहिले सांस्कृतिक कार्यक्रमका लागि त्यस्तो कुरा आएको छैन।
अनि, मुन्द्रेको कमेडी क्लब र छक्का पञ्जाको टिमबीच विवाद के हो?
–अलिकति विवाद भएको हो। अहिले सोच्दा त्यसमा अलिकति म पनि दोषी हुँ जस्तो लाग्छ। पहिलेदेखिको एउटा समूह थियो। सँगै काम गर्दै आएका थियौं। त्यसभन्दा फरक यो मुन्द्रको कमेडी क्लब। मुन्द्रको कमेडी क्लबमा दीपाश्री निरौला दिदी अध्यक्ष हुनुहुन्थ्यो। पछिल्लो समय दिदीले दिनुभएका केही अभिव्यक्ति धेरै विवादित बने। त्यसले गर्दा कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने तनाव पनि भयो। मानिसहरुले आलोचना गरेपछि अलि गाह्रो भयो। यो कार्यक्रम ‘की एड्भर्टाइजिङ’को पनि हो। शशी रिजालले पनि ‘जीतुजी दीपाजीको कन्ट्रोभर्सी आइरहेको छ। केही समय रेस्ट गराउने हो की’ भन्नुभयो। ‘दाई म त भन्न सक्दिनँ’ भनेपछि शशी दाइले नै भन्नुभयो। दीपा दिदीलाई जीतुले यसमा साथ गरेन भन्ने भयो। मैले पनि अडान लिन सकिनँ, म पनि अलि स्वार्थी भएँ। त्यसपछि दीपकजी, केदारजी लगायतलाई चाँहि सरसल्लाह गरेको भए हुने भन्ने लागेछ। सल्लाह गर्ने वातावरण पनि थिएन। त्यसै कारणले म छक्का पञ्जाको टिमबाट अलग्गिएको समाचारहरु आए। केही मात्रामा सही पनि हो। दीपकजीले तँ छैनस् है चाँहि भन्नुभएको छैन। दीपा दिदी क्लबबाट हट्नु भएपछि मलाई हटाइए पनि चित्त दुखाइ गर्दिनँ।
तपाई र दमन रुपाखेतीबीच पनि विवाद आएको कुरा सार्वजनिक भएको थियो, त्यसको वास्तविकता के हो?
–होइन। त्यस्तो थिएन। दमनजीसँग छक्का पञ्जाको टिमसँग जसरी काम गरिएन। उहाँ अलि केटाकेटी पारोको मान्छे हुनुहन्छ। हुन त म पनि त्यस्तै छु। अहिले म अलिक परिपक्व भएको छु जस्तो लाग्छ। दमनजी अलिकति पाउँदा खुशी भइहाल्ने अनि अलिकति नपाउँदा दुखी भइहाल्ने प्रवृत्तिको मान्छे हुनुहुन्छ। शुरुमा सँगै काम र संघर्ष गर्यौं। राम्रो हुने बेलामा उहाँले साथ छोड्नुभयो। सरसर्ती हेर्दा जीतु स्वार्थी देखिन्छ। दमन हटेपछि एकल प्रस्तुति गर्न थाले। बीचमा भेटघाट कम भयो। हामीबीच केही मनमुटाव छैन। भेटघाट हुँदा हामीबीच राम्रो कुराकानी हुन्छ। हामीले चाँडै नै सहकार्य गर्ने सम्भावना छ।
नेपालमा टेलिभिजनप्रतिको आकर्षण उत्कर्षमा पुग्दै गर्दा युवा पुस्ताले ‘जिरे खुर्सानी’का मुन्द्रेलाई निकै रुचाएका थिए। त्यो परिवेश अहिले सम्झिँदा कस्तो लाग्छ?
–त्यो बेला थोरै कुरामा रमाइन्थ्यो। टेलिभिजनमा काम गर्ने भनेपछि एक प्रकारको आनन्द हुन्थ्यो। जिरे खुसार्नी आउने बेला टोल नै शान्त हुन्थ्यो। मान्छेहरु हेरि’रा हुन्थे। आफूले त इडिट गर्दै हेरेको हुन्थेँ। त्यही भएर म चाँहि टोल घुम्थे। मान्छेहरु मेरो कलाकारिता देखेर हाँस्थे। गज्जब लाग्थ्यो मलाई। त्यतिबेला युट्युब थिएन। टिभी नै हेर्नुहुन्थ्यो। हामी हाईहाई थियाैं। अहिले त जताजतै मिडिया पुग्छ। अब त्यो क्रेज हुँदैन होला जस्तो लाग्छ। त्यस बेला धेरै क्यारेक्टरहरु जन्मिए।
वास्तविक नामभन्दा क्यारेक्टरको नामबाट प्रसिद्ध हुनु कलाकारको भाग्य हो नियति?
–भाग्य हो भन्छु म त। जन्मिएर एउटा नाम पाएँ। पछि आफ्नो आफैंले बनाए। धेरैको सहयोग र आफ्नो मिहेनतबाट आफैले नाम कमाएँ नि त। मुन्द्रे मेरो प्रडक्ट हो। कहिलेकाही क्यारेक्टरकै रुपमा मान्छेले हेर्दा चाँहि नराम्रो लाग्छ।
जतिबेला मुन्द्रेबाट समाजले चिन्दै थियो, त्यसबेलाका केही घटना स्मरणमा छन्?
–त्यस्ता धेरै घटनाहरु छन्। बाटो हिँड्दा पनि मुन्द्रे हैन भन्दै प्रश्न गर्थे। विदेशतिर जाँदा पनि धेरैले क्यारेक्टर र मान्छे फरक भएको बताउँथे। बाटोमा कहिलेकाँही पछाडिबाट ड्याम्म हानेर हेई मुन्द्रे डाका के छ भनेर सोध्ने गर्थे। क्यारेक्टरकै हिसाबले धेरैले व्यवहार गर्थे।
कहिलेकाही पात्रले वास्तविक जीवनका आयाम पनि असर परेको छ?
–फरक पर्दोरहेछ। एक त पात्र त्यसमाथि पनि कमेडियन। हस्पिटल, दाहसंस्कार जस्ता पीडादायी ठाउँ र परिस्थितिमा पुग्दा मान्छेहरु हाँसिदिने, कमेडीको हिसाबले हेर्दा अलि नमज्जा लाग्छ। कतिपय कुरा र ठाउँमा हामी पनि सिरियस हुन्छौं नि त।
हसाउने मान्छेहरु भित्र–भित्रै पीडामा रहेका हुन्छन् भनिन्छ, तपाईलाई पनि त्यस्तो परेको छ?
–परेको छ। म संवेदनशील मान्छे हुँ। पुराना कुराहरु सम्झिँदा अहिले यहीँ नै रुन सक्छु। पशुपति गएको त्यो शव देख्दा, जल्दै गरेको लाश देख्दा, विदेशबाट फर्किंदै गर्दा लाश ल्याउँदै गरेको देख्दा त्यहीँ म भावुक हुन्छु। सबैको वेदना हुन्छन्। पीडाहरु हुन्छन्। बुवा बित्नुभयो, १३ दिनपछि नै कार्यक्रममा अरुलाई हँसाउन पर्यो। माझिनटारमा कार्यक्रममै हुँदा श्रीमतीको दुर्घटनामा भएर इमर्जेन्सी लगिएको बेला पनि अरुलाई हँसाउनै पर्यो। कहीलेकाही नातागोतामा दु:ख परिरहेको हुन्छ। आफ्नै घरमा पनि दुखका कथाहरु हुन्छन्। तर, क्यामेराअघि गएपछि सबै बिर्सिनै पर्छ।
कला यात्रा कहिलेबाट शुरु गर्नुभयो? शुरुआतका दिनहरु कस्ता थिए? अहिले ती दिन सम्झिँदा कस्तो लाग्छ?
–मैले २०४९ सालबाट टेलिभिजनको यात्रा शुरु गरेको हो। म कलाकार बन्छु भनेर भन्दा पनि टेलिभिजनमा अनुहार देखाउने उद्देश्यले ‘हिजोआजका कुरा’मा पुगेको हुँ। मलाई त्यहाँ पुर्याउने काम सरस्वती शर्मा दिदी गर्नुभयो। संयोगले त्यस कार्यक्रममा पुगेँ। र, सन्तोष पन्त दाइसँग संवाद गर्ने अवसर पाएँ। रहरै–रहरमा म टिभीमा देखिएँ। फलानोको छोरो टिभीमा देखियो भनेर त्यो बेला उत्पात नै भयो। त्यसपछि मलाई रहर लाग्न थाल्यो। एसएलसी पास गरेर काठमाडौं आएको किशोर थिएँ, हाइट थिएन। मान्छेले नपत्याउने। मेरो शारिरीक बनोटले मैले दुःख पनि पाएको छु। तरकारी पसल राखेँ, कसैले तरकारी बोकेको देख्दा आफैले बोकेजस्तो लाग्छ। मैले दुःख गरेको थिएँ। हिजो संघर्ष गरेर आज केही आनन्द पाएको महसुस गरेको छु। त्यही दुःखले मलाई सरल र शालिन बनाएको छ। त्यसकारण त्यो बेला पाएको दुःखले अहिले खुशी दिएको छ।
कलायात्रामा के पाउनु भयो? के गुमाउनु भयो?
–अहिले जे छ, त्यो सबै कुरा पाएको हुँ। आज तपाईले सम्झिनुभयो, त्यो मैले पाएको हुँ। संसारभर रहेका नेपालीले चिन्नुहुन्छ, कलाकार भन्नुहुन्छ, फोटो खिच्न आउनुहुन्छ, कार्यक्रम आयोजकले विभिन्न ठाउँमा लग्नुहुन्छ, मेरो कुरा समाचार बनाइन्छ। यो सबै मैले कलायात्रामा पाएको कुरा हो। गुमाइयो के त भन्दा समय, केटाकेटीसँग कतै जाने भनेर तयार भयो, कुन कार्यक्रममा पुग्नुपर्छ। परिवारलाई समय दिन गाह्रो पर्छ। प्राइभेट समय छैन आफ्नो। मज्जाले खुलेर बोल्न पाइँदैन। गुमाएको यही हो।
राज्यले नीति नियम बनाउन नसक्दा कला क्षेत्र ठगिएको छ। एउटा गीत बनाउँछ। तर, त्यसको प्रयोग र रोयल्टीलाई व्यवस्थित गर्ने नियम बनेकै छैन। यसको परिवर्तनका लागि कस्तो जागरण वा रणनीतिको आवश्यक छ?
–राज्यसँग म पनि आशावादी हुन्छु। तर, अहिले ‘मपाई प्रवृति’ले बिग्रिएको छ। आफै ठिक, म नै राम्रो, मैले गरेको राम्रो अरु हुँदा गलत र बेठिक भन्ने अवस्था अहिले छ। राज्यले केही पनि गर्दैन। बरु हामीले राज्यलाई केही गरौं। राज्यबाट आश नगरौं। सबै इमान्दार हुनुपर्यो। हाम्रोमा बौद्धिक चोरी हुने गरेको छ। अरुको सिर्जनशीलताको फाइदा आफूले लिनु भएन। कहिलेकाही हाम्रो पन्चलाइनहरू चोरिन्छ। थाहा छ, हाम्रो भनेर। तर, प्रमाण दिन सकिँदैन। केही भनिहाले पनि तैंले सोचेजस्तो अर्कोले पनि सोच्न सक्छन्, भन्छन्। मनमा प्रमाण हुन्छ, देखाउन मिल्दैन। अरुका सिर्जनाहरु ल्याएर आफू हिट खानुभएन। अरुले लेखेको गीत, आफूले लेखेको भनेर चर्चा बटुल्ने, आफूले नगरेको काम आफैंले गरेको भन्ने चलन छ। अझ भ्यूअर्स पनि किन्छन्। म चाँहि वास्तविकतामा बाच्ने मान्छे हुँ। जे छ त्यति नै छ। जबरजस्ती र किनेको भरमा राम्रो नभए पनि राम्रो छ भन्न लगाउने काम म गर्दिनँ।