आइसिसी विश्वकप लिग–२ अन्तर्गतको नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज स्थगित भएको छ। आगमी चैत ६ देखि १५ गतेसम्मका लागि तय भएको सिरिज स्थगित भएको हो।
ओमान बाहिरबाट जानेहरुले त्यहाँ ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ। ओमानले ७ दिनको क्वारेन्टाइन खर्च आइसिसले तिर्नुपर्ने बताएका कारण सिरिज स्थगित भएको बताइएको छ।
आइसिसीले आफूले क्वारेन्टाइन खर्च नबेहोर्ने जानकारी दिएसँगै सिरिज रोकिएको बताइएको छ। यसबारेमा आइसीसी र ओमानले कुनै पनि औपचारिक जानकारी दिएका छैनन्।
नेपाली खेलाडीहरु सो सिरिजको तयारीमा जुटिसकेका थिए। नेपालमा तीन दिनदेखि पहिलो चरणमा २१ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन्। बन्द प्रशिक्षणमा कुल ३२ खेलाडी बोलाइएको थियो।