राष्ट्रिय महिला लिग फुटबलमा एपीएफ क्लबले अपराजित यात्रा जारी राखेको छ। बुधबार भएको खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ८–० गोलले हराएको छ।
एपीएफको फराकिलो जीतमा सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक गरिन्। त्यस्तै, कप्तान अनिता बस्नेतले २ गोल गरिन्। चन्द्रपुरविरुद्ध एपीएफले खेलको पहिलो मिनेटमै अग्रता बनाएको थियो।
कप्तान अनिताले एपीएफको लागि पहिलो गोल गरिन्। खेलको छैटौं मिनेटमा सावित्राले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाइन्। ३३ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–० बनाइन्।
त्यस्तै, खेलको ४७ औं मिनेटमा सावित्राले ह्याट्रिक पुरा गर्दै एपीएफलाई ४–० को अग्रता दिलाइन्। ५४ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफ ५–० ले अघि बढ्यो। खेलको ६० औं मिनेट, ६२ औं मिनेट र ७९ औं मिनेटमा सावित्राले गोल गर्दै दोहोरा ह्याट्रिक पुरा गर्दा एपीएफले ८–० को फराकिलो जीत निकाल्यो।
जारी लिगमा एपीएफको यो आठौं जीत हो। जीतसंगै एपीएफले ८ खेलमा २४ अंक जोडेको छ। चन्द्रपुर ८ खेलबाट ६ अंक जोडेर लिगको छैटौं स्थानमा छ।