इटालियन क्लब युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा इन्टर मिलानसँग गोलरहित बराबरी खेलेको युभेन्टस एग्रिगेटमा २–१ को जीत निकाल्दै फाइनल पुगेको हो।
कोपा इटालियामा यो युभेन्टसको २० औं फाइनल यात्रा हो। युभेन्टसले सर्वाधिक १३ पटक कोपा इटालियाको उपाधि जितिसकेको छ। युभेन्टसले सन् १९३८, १९४२, १९५९, १९६०, १९६५, १९७९, १९८३, १९९०, १९९५, २०१५, २०१६, २०१७, २०१८ मा युभेन्टसले उपाधि उचालेको थियो।
युभेन्टसले सन् २०२१ को उपाधिका लागि एटलान्टा र नेपोलीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। सेमिफाइनलको पहिलो लेगमा गोलरहित बराबरी खेलेका एटलान्टा र नेपोलीबीचको दोस्रो लेग बुधबार राति १ः३० बजे हुनेछ। नेपोलीलीले ६ पटक उपाधि हाप पारिसकेको छ भने एटलान्टाले एकपटक मात्र उपाधि उचालेको छ।
तुलनात्मकरुपमा युभेन्टस नेपोली र एटलान्टा भन्दा बलियो टोली हो। राम्रो लयमा रहेको युभेनटस सिरी ए को तेस्रो स्थानमा रहँदा नेपोली र एटलान्टा क्रमशः छैटौं र सातौं स्थानमा छन्।
सन् २०२१ सम्म आइपुग्दा युभेन्टस र नेपोली ३७ खेलमा आमनेसामने भएका छन्। तीमध्ये युभेन्टसले २० खेलमा जीत निकालेको छ भने नेपोली १३ खेलमा विजयी भएको छ। दुई टोलीबीचको ४ खेल बराबरीमा सकिएको छ। हेड टु हेडमा युभेन्टस नेपोलीभन्दा बलियो छ।
त्यस्तै, हालसम्म युभेन्टस र एटलान्टाबीच २९ खेलमा प्रतिस्पर्धा भइसकेको छ। जसमध्ये युभेन्टस २१ खेलमा विजयी भएको छ भने एटलान्टाले एक खेलमा मात्र जीत निकालेको छ। दुई टोलीबीचको ७ खेल बराबरीमा सकिएको छ। हेड टु हेडमा युभेन्टस एटलान्टाभन्दा निकै बलियो छ।
यसकारण कोपा इटालिया २०२१ को फाइनलमा पुग्न अर्को टिम नेपोली वा एटलान्टा दुबैभन्दा युभेन्टस बलियो छ। फरवार्ड क्रिस्टियानो रोनाल्डोबाट प्रेरित युभेन्टसलाई १४ औं पटक कोपा इटालियाको उपाधि जित्ने अवसर छ। फाइनल खेल मे १९ तारिखमा सान सिरो स्टेडियममा हुनेछ।